ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० चैत
नेपाली चलचित्र ‘पाँच पाण्डव’मा यस अघि अभिनेता सागर लम्साल बलेलाई हटाइएको थियो । अब उनको ठाउँमा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौलाको इन्ट्री भएको हो । उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग अभिनय गर्नेछन् । यो चलचित्रमा केही समयअघि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका कलाकारहरू एकसाथ काम गरिरहेका छन् ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।
चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

