चलचित्र पहाड नयाँ वर्षसँगै देशभरका चलचित्र घरमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख

नेपाली चलचित्र ‘पहाड’ देशभर प्रदर्शनमा आएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आज वैशाख १ गतेदेखि यो चलचित्र रिलिज भएको होृ ।‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी र अरुण क्षेत्रीसहित नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ। विशेषगरी पञ्चमी घिमिरे यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्, जसले फिल्मप्रति थप आकर्षण सिर्जना गरेको छ।

समसामयिक सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले सुरुवातदेखि नै दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। ग्रामीण परिवेश, पहाडी जीवन र त्यससँग जोडिएका समस्यालाई समेट्दै फिल्मले नेपाली समाजको बदलिँदो स्वरूपलाई पर्दामा उतारेको छ।

 

वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित यस फिल्ममा बेरोजगारी, युवा जनशक्ति विदेश पलायन, रित्तिँदै गएको गाउँ तथा पानीको अभावजस्ता ज्वलन्त विषयलाई उठान गरिएको छ। निर्देशक घिमिरेका अनुसार ‘पहाड’ केवल भूगोलको कथा होइन, यो समग्र देशको वर्तमान अवस्थाको प्रतिनिधित्व हो। उनले पहाडको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको पीडा, विछोड र संघर्षलाई सशक्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

फिल्म प्रदर्शनसँगै निर्माण टिमले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम पनि तय गरेको छ। कलाकारहरू काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिनेछन्, जसले फिल्मप्रतिको उत्साह अझ बढाउने विश्वास गरिएको छ। यसले दर्शक र सर्जकबीचको सम्बन्धलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।

भाग्यरत्न फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् भने संगीत निर्देशन रञ्जित सिंह गजमेरको रहेको छ। प्रस्तुतकर्ता उत्तम रसाइली रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन्। प्रोडक्सन डिजाइन भावना घिमिरेले सम्हालेकी छन्।

फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्टमार्फत र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्समार्फत वितरण गरिँदैछ। नृत्य निर्देशन कविराज गहतराज र मिङमा डी लेप्चाको रहेको छ भने द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्। सम्पादन शंकर कोइराला र भारती घिमिरेले गरेका छन्।