ब्युटी न्युज नेपाल
काठमाडौँ, १० फागुन
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२५’का विजेताहरूलाई राजधानीमा आयोजित विशेष समारोहबीच पुरस्कार, उपहार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेताहरूलाई पानीपोखरीस्थित ‘तपाईंको बजार’ शोरुम परिसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । समारोहमा मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तलाई ‘तपाईंको बजार’को प्रायोजनमा इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको थियो ।
स्कुटरको साँचो प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, ‘तपाईंको बजार’का प्रबन्ध निर्देशक सुशील संग्रौला, प्रमुख कार्यकारी अधिकृत माया लामा, अभिनेता सरोज खनाल र धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झा तथा कोरियोग्राफर अश्विनीकान्त झालगायतले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा प्रतियोगिताका अन्य विजेताहरूलाई पनि विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो । साथै, प्रतियोगिताका प्रायोजक, सहयोगी तथा प्रतिस्पर्धीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र वितरण कार्यक्रममा कृष्ण ढुंगाना, पत्रकार विदुर गिरी र डब्बु क्षत्री, अटो नेपालका अध्यक्ष रोशनकुमार श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले मिसेस नेपाल वल्र्डको ग्रान्ड फिनाले समारोहमा मिसेस वल्र्डको बिजेतालाई बिद्युतीय स्कुटर दिने घोषणा गरिएको र सोही घोषणा अनुसार आज स्कुटर प्रदान गरिएको बताए । स्कुटरको लागि तपाइँको बजारलाई धन्यबाद दिँदै आगामी दिनमा आपसी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता निशुले जनाए ।
समारोहमा बोल्दै प्रमुख अतिथि एवम् बरिष्ठ हास्यब्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कार तथा सम्मानमार्फत महिलालाई प्रेरित गर्नु सकारात्मक कदम भएको बताए ।
‘तपाईंको बजार’का प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गरे ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत माया लामाले आत्मनिर्भर महिलालाई प्रोत्साहन गर्नु सामाजिक दायित्व भएको बताउँदै संस्था केवल व्यावसायिक नभई समाजसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार संस्था भएको धारणा राखिन् ।
कार्यक्रमका सहभागीहरूले विजेताहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको पहल प्रेरणादायी र सकारात्मक भएको बताएका थिए ।


