१०० भन्दा बढी चलचित्र घरबाट ‘बिगुल’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ फागुन

राजनीतिक एवम् सामाजिक विषय बस्तुमा आधारित नेपाली चलचित्र ‘बिगुल’ आज शुक्रबारबाट नेपालका विभिन्न चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

चलचित्र ‘बिगुल’ले आज रिलिज भएका बाँकी दुई चलचित्र भन्दा बढी नेपालका चलचित्र घर पाएको छ । यो चलचित्र एक सय भन्दा बढी चलचित्र घरमा रिलिज भएको यसका निर्माता एवम् लेखक दिनेश कोइरालाले बताएका छन् । दुई दिन अघि काठमाडौँमा आयोजना गरिएको प्रिमियर सोमा यो चलचित्रले राम्रो प्रतिक्रिया पायो ।

चलचित्र ‘बिगुल’मा बेनिशा हमाल,नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का, मिरा पण्डितलगायतको मुख्य भूमिकामा छन ।

निर्देशक रमेश कोइरालाले शुक्रबार बिहानैबाट आफ्नो चलचित्रलाई दर्शकको राम्रो प्रतिक्रिया आएको बताएका छन् । समसामयिक राजनीतिक विषयमा आधारित भएकाले पनि दर्शकहरुको यो चलचित्रमा विशेष चासो रहेको पनि उनले बताए ।

यो चलचित्रलाई दिनेश कोइरालाले लेखेका हुन् । उनले आफ्नो भोगाई र राजनीतिक बिकृतिलाई कथानक रुपमा यो चलचित्रमा प्रस्तुत गरेको बताएका छन् । उनी यो चलचित्रका मुख्या निर्माता पनि हुन् । उनका अनुसार नजिकिँदै गरेको संसदीय निर्वाचनको सेरोफेरो यो चलचित्रको कथामा देख्न पाइन्छ ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको यो चलचित्रमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेको यो चलचित्रको द्वन्द्व निर्देशन एनबी महर्जन हुन् ।