१८ वैशाखमा ‘लालीबजार’ आउने, टिजर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा मुख्य पात्रहरूलाई प्रस्तुत गर्दै कथाको झल्को दिइएको छ, जसले दर्शकमाझ उत्सुकता बढाएको छ ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । अभिनेत्री स्वस्तिमा खड्काको यस फिल्ममा नियमितभन्दा फरक भूमिका रहेको बताइएको छ ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । साथै, विशाल देवकोटा र प्रसंशा सुवेदीले यही फिल्मबाट अभिनय यात्रा सुरु गरेका छन् ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । क्रिएटिभ निर्देशक जेबी रुवाली, छायांकन निर्देशक सुशन प्रजापती, द्वन्द्व निर्देशक सम्राट बस्नेत, सम्पादक मित्रदेव गुरुङलगायत प्राविधिक टिमको समेत फिल्ममा सहभागिता रहेको छ ।