ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ
नेपाली प्रेम कथानक चलचित्र ’कुमारी’ आज (शुक्रवार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ ।
प्रेम कथानक चलचित्र निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ। यसै चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ। काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन्। उल्लेखनीय कुरा के छ भने यस चलचित्रले बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
पहिलो शो हेरेर निस्किएका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन्। दर्शकले नेपाली प्रेमकथामा बनेका चलचित्रहरूमा ’कुमारी’ उत्कृष्ट मध्ये एक रहेको प्रतिक्रिया दिएका छन्। चलचित्र युनिट कलाकारहरूसहित बिहानै देखि हलमा दर्शक भेटी प्रतिक्रिया लिइरहेका छन्। प्रतिक्रियाबाट टिम उत्साहित देखिएको छ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन्। चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ। विकास सुवेदीको लेखन रहेको ’कुमारी’ मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको यो चलचित्रले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ ।


