ट्रेन्डिङमा दिनेशको बाँस काटेर…


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ पुष

गायक दिनेश गौतमले फरक शैलीको डान्सिङ नम्बर ‘बाँसै काटेर…’ दुई दिन यताबाट युट्युव ट्रेन्डिङमा छ ।

वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका दिनेशले यसपटक डान्सिङ नम्बर गीत गाएका हुन् । उनले यो गीतको भिडियो शुक्रबार काठमाडौंमा एक समारोहबीच रिलिज गरेका थिए । युट्युवमा रिलिज भएको तीन दिनमा चार लाखपटक हेरिएको यो भिडियो ट्रेन्डिङमा १२ स्थानमा छ ।

भिडियोमा भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ । कोशिस क्षत्रीको शब्द संगीत रहेको बाँसै काटेर… गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् ।

भिमफेदी गाइजका टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा आरी डान्स र थाली डान्स पनि देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।

करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए ।
२०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् ।

दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो…’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु…’ गीत सार्वजनिक भएको थियो ।