ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मंसिर

नेपालका बाँसुरी बादकको सूचीमा अग्रपङ्तीमा आउने बाँसुरीबादक हुन नगेन्द्र बिक्रम राई । यसपटक उनले एकल बाँसुरीबादन कार्यक्रममा बाँसुरीको धुनबाट दर्शकलाई लठ्ठयाएका छन् ।

सांस्कृतिक संस्थानले मासिक रुपमा आयोजना गर्दै आएको ‘बाद्य–वन्दना’को आठौं श्रृँखलामा नगेन्द्रले बाँसुरीको धुनबाट दर्शकको मन जितेका हुन् ।

नाचघरको मिनी हलमा सम्पन्न सो कार्यक्रममा उनको बाँसुरी धुन सुन्न पुगेका दर्शकको घुईंचो थियो । कार्यक्रममा नगेन्द्रले करिब एक घन्टा निरन्तर बाँसुरीका विभिन्न धुन पस्किए ।

उनले राग यमनबाट बाँसुरीको धुन सुरु गरेका थिए । उसपछि उनले विभिन्न पाँच ओटा धुन सुनाए । नगेन्द्रले पावर अफ फ्लुट, गोठाले धुन, पावर अफ रारा जस्ता विविध धुन बजाएका थिए । कार्यक्रममा उनको बाँसुरी धुनमा संस्कृतिविद चेतन कार्कीदेखि सबैजसो सहभागीहरु लठ्ठिएका थिए ।

बाँसुरीमा एकल प्रस्तुत भएका नगेन्द्रलाई प्रत्यक्ष बाद्यबादतर्फ तबलामा प्रसन्न श्रेष्ठले, मादलमा नरेश प्रजापति र दिपेश राईले साथ दिएका थिए ।

सो क्रममा नगेन्द्रको बाँसुरी धुनसँग्रह ‘लिबुलुङ’को संस्कृतिविद चेतन कार्की, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, संगीतकार बुलु मुकारुङ, जुगल डंगोल, मिलन मोक्तानलगायतले बिमोचन गरे । सँग्रहमा आधा दर्जन धुनहरु छन् ।

१४ हजार भन्दा बढी गीतमा आफुले बाँसुरी बजाएको अनुभव सो क्रममा नगेन्द्रले सुनाए । उनी बिगत दुई दशकदेखि नेपाली संगीतको क्षेत्रमा बाँसुरी बादकको रुपमा सक्रिए छन् ।