६ तलामा झुन्डिँदा सलोन र बिनोद झन्डै बेहोस


ब्युटी न्युज नेपाल
काठमाडौं १४ मंसिर

अभिनेता सलोन बस्नेत र बिनोद न्यौपानले चलचित्र सुश्री सम्पत्तिमा एउटा दृष्य दिनेक्रममा आफुहरु डरले झन्डै बेहोस भएको बताएका छन् ।

आगामी २८ मंसिरबाट देशव्यापी प्रदर्शन हुने चलचित्र सुश्री सम्पत्तिको ट्रेलरमा राखिएको एउटा दृष्यले यतीबेला युट्युवमा दर्शकको ध्यान तानिरहेको छ ।
यो चलचित्रको अभिनेता सलोन बस्नेत र अर्का अभिनेता बिनोद न्यौपाने सात तले घरमा झुन्डिएर रँग रोगनको काम गरेका छन् । सुश्री सम्पत्तिमा यो दृष्य गर्न आफुहरुलाई सबैभन्दा गाह्रो भएको अभिनेताद्धयले बताए ।

अभिनेता बिनोदले भने,‘मलाई अग्लो ठाउँमा डरलाग्ने भएकाले सुरुमा डोरीमा झुन्डिएर ७ तले घरको छैटौं तला बाहिररँग रोगन गर्दा डरले मुटु ढुकढुक हुुनुका साथै साह्र शरीर काँपेको थियो । रँग लगाउने दृष्य सकेर जब तल आएँ त्यतिबेला बल्ल लामो सास फेरेर आज बाँचियो जस्तो लाग्यो ।’

अर्को अभिनेता सलोनले पनि आफ्नो अबस्थासमेत बिनोदको जस्तै भएको बताए,‘तलबाट माथि हेर्दा त सामान्य लागेको थियो । तर जब डोरीमा झुन्डिएर माथि गएँ, त्यतिबेला मेरोमा डरले हालत बिग्रिएको थियो ।’ सलोनले भने,‘यसरी माथी झुन्डिएर रँग पोत्दै सम्बाद बोल्नुपर्ने थिए । त्यतिबेला के सम्बादन बोलियो भन्ने समेत हेक्का भएन् ।’

निर्देशक सुब्रत आचार्यका अनुसार सलोन र बिनोद फिल्ममा पेन्टरको भूमिकामा छन् । पैसा कमाउन त्यत्तिकै जोखिम मोलेर काम गर्नु पर्छ भनेर पैसाको महत्व देखाउन पनि यो दृष्य राखिएको निर्देशक आचार्यले बताए । यी दुई अभिनेताले पनि आफुहरुका लागि यो दृष्य अहिलेसम्म फिल्ममा काम गर्दाको अविस्मरणीय दृष्य भएको बताए । सुश्री सम्पत्तिको हुकुम बक्सियोस…गीतसँगै ट्रेलर यतीबेला चर्चामा छ ।