राष्ट्रिय संगीतकर्मी संघको छैठौं अधिवेशन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । यो अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरे । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघ ७५ जिल्लाबाट यो महाधिवेशनमा कलाकारहरु काठमाडौं आई सहभागी भएका छन् ।

यो संघको कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभपतित्वमा सम्पन्न १८ औं वार्षिक साधारणसभाको उद्घटन समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी, चन्द्र शर्मा, राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायत अतिथि थिए ।

सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिब अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरु आबद्ध रहेको बताए । आफु महासचिब हुँदाको अबस्थामा संघमा उल्लेख्य प्रगतिको भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।

कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पु¥याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रसँसनीय भएको बासकोटाले बताए ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने भनाई राखिन् ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि संघको १८ औं वार्षिक साधारण सभाको शुभकामना दिए ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफु सँधै कलाकारको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफुले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशिल रहेको उनले जिकिर गरे । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफु एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका कटवालले आफु संघमा रहेर कलाकारहरुको सेवामा निरन्तर लागि पर्ने बताए ।

नौमती बाजाले समारोहमा अतिथिहरुलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

कार्यक्रममा बरिष्ट पत्रकार रामजी बगाले, राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठसहित विभिन्न व्यक्तिहरुलाई सम्मानित गरियो ।

संघको अधिवेशन अन्तर्गत शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बन्दसत्रको कार्यक्रम रहेको छ । शनिबार बेलुका हुने निर्वाचनबाट संघमा नयाँ कार्यसमिति चयन हुने यसका कार्यवाहक अध्यक्ष कटवालले बताए ।