नवराज विकको घटनासँग मिल्दो पुजार सार्कीको टिजर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० चैत

चारवर्ष अघि रुकुममा दलित युवा नवराज विकले ठकुरीकी छोरीलाई प्रेम गरेका थिए । दलित युवाले गैर दलित युवतीलाई प्रेम गरेको भन्दै त्यहाँका माथिल्लो जातिले त्यतिबेला नवराज सहित पाँच जनाको हत्या गरेका थिए । सो हत्यामा सम्लग्न भनिएका व्यक्तिहरु यतिबेला कारागारमा सजाए काटिरहेका छन् ।

यस्तै दलित युवाले माथिल्लो जातको युवतीलाई प्रेमगर्दा माथिल्लो जातले गरेको विभेद र हिँसाको कथा समेटेर चलचित्र पुजार सार्की तयार गरिएको छ । आगामी १० जेठमा रिलिज गरिने पुजार सार्कीको नयाँ वर्ष २०८१ को पूर्व सन्ध्याको अबसर पारेर शुक्रबार ओएसआर डिजिटलबाट टिजर रिलिज गरिएको छ । यो चलचित्रको टिजर हेर्दा नवराज विकको घटनाको झल्को आउँछ । कतै यो चलचित्रको कथा पनि नवराज विकको घटनामा आधारित रहेको हो की भन्ने धेरैको चासो छ । टिजरमा तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु समेटिएका छन् । तथापि २०४६ सालको पृष्ठभूमिको कथा भनिएकाले यो चलचित्रको कथा नवराज विकको प्रेमकथासँग मिल्दैनकी भन्ने अर्काथरीको तर्क छ ।

यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ । टिजरको लम्बाइ निकै छोटो हुन्छ, तर निर्देशक राउतले सबै कलाकारलाई उत्तिकै महत्वका साथ स्थान दिन सफल छन् । यो टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन्। डोली चढेर आउँदै गरेका उनी केही सामन्त लाग्छन् तर अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन्। एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन्। टिजरको दृष्यले आर्यनको भूमिका स्पष्ट खुलेको छैन ।
दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन् । मैतबहादुर सार्की भनिएका प्रदीपले कसरी विवाहमा बाजा बजाए भन्ने अर्को प्रश्न यो टिजरले उब्जाएको छ । उनी सार्की हुन् की दमाई हुन भन्ने जिज्ञासा धेरैको छ ।

तथापि उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ। उनको भूमिकाले जातीय विभेदलाई दर्साएको छ। केही क्षणमा पल शाह देखिन्छन्। उनले भरुवा बन्दुक चलाएका छन्। उनले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन। टिजरका दृश्य सम्पादन गर्दा आर्यन र प्रदीप माथि बन्दुक हानी रहेको देखिएता पनि पलको भूमिका क्रान्तिकारी रहेको अनुमान गर्न सकिन्छ। टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।
यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन भने विकास सुवेदीले लेखेका हुन् । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ । यो चलचित्रमा हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।