चौथो सातामा चलचित्र ‘महाजात्रा’, अहिलेसम्मको ब्यापार २३ करोड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० चैत

चलचित्र ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । देश बिदेशका हलमा प्रदर्शनरत यो चलचित्रले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले तेश्रो सृँखलाको रुपमा यो चलचित्र निर्माण गरेको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट अनुसार ‘महाजात्रा’ ले विदेशमा अघिल्ला नेपाली चलचित्रको रेकर्ड ब्रेक गरिसकेको छ । पछिल्लो समय विश्वस्त हुन् नसकेका दर्शकले ‘महाजात्रा’ हेर्न परिवार नै लिएर हल आउन बाध्य भएको एमएसएमले जनाएको छ ।

फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मलाई प्राप्त शोमा दर्शकको उपस्थिति बलियो देखिएको जानकारी दिए ।

‘हामीले प्राप्त गरेको शोमा अकुपेन्सी उल्लेख्य हुनुका साथै हाउसफुल पनि भइरहेको छ । चौथो सातामा प्राप्त गरेको यो मायाले हामीलाई अझैँ दायित्व थप्दै मेहनती बन्न प्रेरित गरेको छ । हामीले आगामी दिनमा दर्शकको विश्वास बढ्ने फिल्म नै बनाउने छौँ’, निर्माता खत्रीले भने ।

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको बताए ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।