भिडियोमा हरिवंश र प्रियंकाको एक केटा मादलु पड्का


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

अग्रज हास्य अभिनेता हरिवंश आचार्यले आफ्नो स्वरमा नयाँ गीत ल्याएका छन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा हरिबँशको आफ्नै शब्द, संगीत रहेको छ । रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् ।

चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमो लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् । तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको बताउँछन् ।

‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुइ महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का । तैपनि पछि रेकर्ड गरौला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली)लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मनपरेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले । श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ, चड्किन्छ’ भनेपछि गीतले यो स्वरुप पायो । ’

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको हरिवंश बताउँछन् । ‘यो सन्देशमुलक गीत होइन ,’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ । ’ यद्यपी यो गीतमा चुनावमा हुने पैसा बाड्ने विकृतीलाई व्व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।