काठमाडौंका हराएका पत्रकार बानियाँ मकवानपुरमा मृत भेटिए


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

सोमबारदेखि हराइरहेका अग्रज पत्रकार बलराम बानियाँ मृत अबस्थामा भेटिएका छन् । उनको शब मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा बुधबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यलाई फोटो देखाएर उनको शवको सनाखत भएको पनि प्रहरी जनाएको छ । पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

सोमबार दिउँसो १ बजेदेखि पत्रकार बानियाँको मोवाईल बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो । उनी त्यँहीबाट हराएको बुझिएको छ । उनले खोलामा हाम फालेका हुन या अन्य केही भएको हो । त्यो अनुसन्धान भैरहेको छ ।

उनका परिवारले बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । खोजीको क्रममा उनको शब मकवानपुरमा भेटिएको हो ।