लघुचलचित्र मे वानमा श्रमिकको पिडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ बैशाख

लघुचलचित्र मे वान सार्वजनिक गरिएको छ । मे दिवसका अवसरमा मे वान नामको लघुचलचित्र युट्युबमा सार्वजनिक भएको हो । नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

यो लघू चलचित्रमा दीप ज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीले अभिनय गरेका छन् । लघुचलचित्रमा काम गरेबापत पारिश्रमिक नपाएको पिडा देखाउन खोजिएको छ ।

यसमा श्रमिकको पिडालाई समेटिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् । सोही प्रसँगलाई यो लघू फिल्ममा समेटिएको छ । यसै विषयलाई लिएर सन्देशमुलक लघुचलचित्र मे वान बनाइएको हो ।

यसबारे निर्देशक पुरुषोत्तम बस्नेतले भने,“मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरुको वास्तविक समस्या पनि समाधान गरौं । श्रमको मुल्य तिरौं, श्रमिकको इज्जत गरौं । यसको सांकेतिक प्रस्तुती यो लघुचलचित्र हो ”

मजदुरको पिडा उठाउने सञ्चारकर्मीहरु पनि पिडामा नै रहेको कुरा वास्तविकतामा नै भएको उनले बताए । हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर मे वान निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए ।

अनिल कुमार महर्जनको सम्पादन रहेको मे वान लघुचलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । यसमा कपिल खड्का र भोला सुवेदीको छाँयांकन रहेको छ ।