आमाप्रति सेलिब्रेटीहरुको यस्तो भाव


ब्युटी न्युज नेपाल/जयन सुब्बा मानन्धर
काठमाडौं, ११ बैशाख

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन आमाहुने सबैले आ आफ्ना आमालाई मिष्ठान भोजन खुवाएर विभिन्न उपहार तथा सामग्री प्रदान गरेर आफ्ना आमाको दीर्घायु कामना सहित मातातिर्थ औंसी मनाएका छन् । आमा नहुनेहरुले पनि आफ्ना दिवँगत आमाप्रति पानी चढाएर श्रद्धासुमन अर्पण गरेका छन् । नेपाली कला क्षेत्रका विभिन्न कलाकारहरुले आफ्ना आमालाई माता तिर्थ औंसीको शुभकामना दिँदै आमा प्रतिको भाव सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् । ति मध्य केही सेलिब्रेटीहरुको भाव यहाँ प्रस्तुत गरिएको छ ।

दिपकराजको तीन आमालाई दण्डवत


निर्माता तथा अभिनेता दीपकराज गिरीले तीन चरित्र अभिनेत्री लक्ष्मी गिरी, बसुन्धरा भुषाल र रमा थपलियालाई आमाको रुपमा सम्बोधन गर्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,‘सानो छंदा नै आमा बित्नु भयो आमाको कुनै तस्बिर पनि छैन म संग । आमा कस्ति हुनुहुन्थो त्यो पनि थाहा छैन । अत आमा भन्ने बित्तिकै मेरा बिभिन्न चलचित्रमा आमाको भूमिका निर्बाह गर्ने यी महान कलाकारहरूको अनुहार याद आउछ । पर्दामा भएपनि उहाहरूमा मैले आफ्नो आमाको छबि पाएको छु । उहाँहरूले पनि छोराको रूपमा अकमाल गर्नु भएको छ, प्रेम गर्नु भएको छ । भावनाको सम्बन्ध पनि कहाँ कमजोर हुन्छ र ?आखिर भावनामा नै त अडेको छ यो मायाको संसार माने देउता नत्र ढुगाँ । एउटा आमाको मुख हेर्नु पर्ने ठाँउमा झन् ३,३ वटी आमाको मुख हैर्दैछू । नेपाल आमा लगायतका नेपालका सम्पूर्ण जिबित र मृत आमाहरूलाइ साष्टाँग दन्डवत ।’

उषा शेरचनको दिवँगत आमालाई पत्र


बरिष्ट कवि एवम् आख्यानकार उषा शेरचनले आमाको मुख हेर्ने दिवसको अबसरमा संसारभरका आमाहरुलाई शुभकामना व्यक्त गरेकी छिन् । आफ्नी दिवँगत आमाको सँझनामा उनले फेसबुकमा लेखेकी छिन्,‘मेरी मुमाको मुहारमा देखिने त्यो खुसी र चमक संसारकै सबैभन्दा बहुमूल्य लाग्थ्यो र अहिलेसम्म पनि लाग्छ । कहिलेकाहीँ यस्ता स–साना कुराहरुले पनि मुमाबुवाहरुलाई ठुला ठुला खुसी दिँदा रहेछन् । त्यही क्षणका साक्षी यी तस्बिरहरू ।अहिले मुमाको भौतिक शरीर हामी माझ छैन तर मुमाको मुहारमा देखिएको खुसीको त्यो चमक त्यसबेला देखि आज पर्यन्त मेरो आँखासामु ताजा भएर झल्किरन्छ ! हुनत जीवन र नियति माथि कसको के जोर चलेको छ र ? मेरो चलोस र हजुर ! भौतिक शरीरले एक न एक दिन छाडेर त जान्छ नै । बाँचेकाहरूलाई भने छाडेर जानेहरूको अभाव बेस्सरी खट्किने भनेको अभाव रहेछ ! प्यारीआमा ! जीवन चक्र त आफ्नै तालमा घुमि नै रहनेछ जसरी पहिला घुम्थ्यो समय पनि आफ्नै रफ्तारमा चलिनै रहनेछ जसरी पहिला चल्थ्यो मौसम पनि आफ्नै हिसाबमा बदलि नै रहनेछ जसरी पहिला बदलिन्थ्यो घाम त्यसरी नै उदाउने छ । जून त्यसरी नै उदाउने छ हावा त्यसरी नै बहनेछ नदी त्यसरी नै बग्नेछ मान्छेको दिनचर्या पनि उस्तै हुनेछ कतै केही नरोकिएर जीवन उसै गरि चलि नै रहनेछ । जसरी चलिरहेको थियो । तथापि आमा ! मेरी प्यारी आमा आज देखि कहिँ कतै पनि भौतिक रूपमा तिमी हुने छैनौं भन्ने गहिरो पीडाले आकाशै खसेजस्तो धरती नै भासिएजस्तो संसारै अँध्यारो भएजस्तो अनुभूति भइरहेको छ । अब उप्रान्त यदि कसैले संसारै दिएछन् भने पनि यदी मैले संसारै पाएछु भने पनि प्यारी आमापलपल तिम्रो अभाव खट्कि रहनेछ जीवनभर ! पलपल तिम्रो याद बल्झि रहनेछ जीवनभर !’

अभिनेत्री केकीको आमाप्रति कृजज्ञता पत्र


यस्तै अभिनेत्री केकी अधिकारीले घरमा आफ्नो कोठामा बसेर आमालाई माता तिर्थ औंसीको अबसरमा एक पत्र लेखेकी छिन् । उनले आमालाई कृतज्ञता पत्र लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन्,‘आमा, यो परिस्थितिमा आमालाई दिन केही नसके पनि मुखै आगाडी भन्न गाह्रो हुने भावनालाई ड्रामाटिक नै लागे पनि चिठीको स्वरुपमा व्यक्त गर्ने कोसिस गरेको छु । साच्चै खुशी हुनु भो, अरु बेला भन्दा पनि, ट्राई गर्नुस त खुशी मिल्छ । आखिर संसार नै ल्याएर आमाको अगाडी राखीदि पनि आमाले दिएको देनको एक छेउ नि हुन्न । लेख्ने बानी छुटेर अक्षर त भसक्कै भैगएछ । बुझ्नु भएन भने सोध्नु है, म पल्लो कोठा मै छु आमा ।’

सुनिता दुलालको नजिकको साथी आमा


यस्तै गायिक सुनित दुलालले पनि माता तिर्थ औंसीको अबसरमा आज आफ्नो फेसबुकमा आमालाई शुभकामना दिएकी छिन् । आफ्नो सबैभन्दा नजिकको साथीको रुपमा उनले आमालाई उल्लेख गर्दै यस्तो लेखेकी छिन्,‘सुखदुखमा सधैँ साथ दिने मेरो सबै कुरा शेयर गर्न मिल्ने मेरो सबैभन्दा नजिकको साथी मायाको खानी आमा । मलाई सबैभन्दा माया गर्ने मेरी आमा । सधैँ तपाईको छहारीमा बस्न पाउ । मेरो दुखमा रोइदिने, मेरो सुखमा सधैँ रमाउने मेरी प्यारी आमा बिनाको जीवन कल्पना गर्न सक्दिन । म तपाईंलाई धेरै धेरै माया गर्छु,पुजा गर्छु । नाम पनि तपाईंको देवी त्यसैले त तपाईको पुजा गर्छु,अर्चना गर्छु । तपाईं मेरो शक्ति हो, मेरो मन्दिरको भगवान हो । मेरो प्यारो साथी, मेरो प्यारो आमा आई लभ यु मोर देन माइ लाइफ ह्याप्पी मदर्स डे ।’

गायक युबराजको नजरमा भगवान नै आमा


गायक युवराज चौलागाईले आमा नै आफ्नो भगवान भएको बताएका छन् । उनले आमाको मुख हेर्ने तिथिको अबसर पारेर आमाप्रति आफ्नो भावना यसरी व्यक्त गरेका छन्,‘आमा, नौ महिना कोखमा राखी घाम पानी दुखस्सुख नभनी यो सुन्दर संसार देखाउने देवी हुन आमा । जन्माई हुर्काइ, ठुलो मान्छे बनाउदासम्म हामीले कती दुख पिडा दिन्छौ तर कुनै झर्को मान्दिनन र सन्तान लाई गुनासो पनि गर्दिनन । आफु भोकै सुतेर सन्तानको पेट भर्ने, छोरा छोरी को लागी संसार बिर्सेर हरेक दुख सहने ‘पृथिबी’ हुन आमा । माया र ममताको खानी हुन आमा । आमाको काख मा स्वर्ग महसुस हुन्छ । भगवान सबै ठाउँ मा पुग्न नसकेर आमा बनाएको भनिन्छ । तेसैले आमाको माया नै शक्तिको श्रोत हो । जुन घरमा आमा हाँस्छिन त्यो घर मा भगवान को बास हुन्छ्र । मेरी आमा मेरो लागि भगवान हो ।’

अभिनेता दिक्पालको सँसार नै आमा


अभिनेता तथा मोडल दिक्पाल कार्कीले आफ्नो लागि संसार नै आमा भएको बताएका छन् । आजको दिन उनले आमाप्रति आफ्नो भावना यसरी पोखेका छन्,‘ आमा शब्द आफैमा सम्पूर्ण छ,यसलाई परिभाषित गर्न पर्दैन । भर्खर जन्मेको शिशुले पनि सबैभन्दा पहिला संसारमा आउनासाथ आमा खोज्छ । यसबाट नै एउटा सन्तानलाई आमाको कति जरुरी छ भनेर बुझ्न सकिन्छ । आमाले आफ्नो सन्तानलाई दिएको जति माया शायद सन्तानले आमालाई दिन सक्ने भए आमा कति धनी हुन्थ्यो होला, तर पनि सन्तानहरुले आफ्नो आमालाई दिनेजति माया दिन त नसकौला । तरपनि मातातिर्थको दिनमा मात्र हैन आमालाई हरेक दिन सक्दो माया दिउँ । त्यसो गरेमा भगवान खोज्न कहिँ जान पर्दैन । स्वयम् आमा भगवानको रुपमा हाम्रो सामु हाम्रो हुनु हुन्छ । आमालाई माया गर्नु भन्दा ठुलो पुन्य यो संसारमा केही छैन । मेरो लागि संसारमा आमा तपाईभन्दा माथि कोही छैन !’

नायिका श्रद्धाको नजरमा आमा


अभिनेत्री तथा गायिका श्रद्धा क्षत्रीले पनि आमालाई समर्पण गर्दै माता तिर्थ औंसीको अबसरमा आज आफ्ना भावनाहरु सामाजिक सञ्जालमा यसरी व्यक्त गरेकी छिन्,‘ आज म जे छु तपाईंले गर्दा छु । मलाई यति धेरै खुशी दिनु भएकोमा, आमा धेरै धेरै धन्यबाद । मेरो काममा सधैँ साथ दिने, सहयोग गर्ने, मेरो साथी भएर मेरो सपनालाई उडान भर्ने मेरी प्यारी आमा । तपाईंको सहयोग बिना आज म यहासम्म पुग्थिन थिए । तपाईंको साथ, सहयोग र मलाई यति सुन्दर जीवन उपहार दिनु भएकोमा सबैकुराको लागि धन्यबाद आमा । आई लभ यु टु दि मुन एण्ड ब्याक । ह्यापी मदर्स डे ।’