च्यारिटीमा रुचाईयो चलचित्र दि कर्मा


ब्युटी न्युज नेपाल
काठमाडौ, १५ माघ

नेपाली चलचित्र ‘दि कर्मा’ले च्यारिटी शोमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ यो चलचित्रको मंगलवार राजधानीमा च्यारिटी शो आयोजित गरिएको हो । सो क्रममा संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जयराज रायले बताए ।

यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । च्यारिटी शोमा चलचित्रलाई सिनेकर्मी तथा आम दर्शकले मन पराएको पनि निर्माता रायले बताएका छन् । निर्माता तथा कलाकार रायले कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले चलचित्र च्यारिटीलाई दिने निधो गरेको बताए । उनले थपे, ‘म आँफै पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई चलचित्र दिएका हौँ ।’

कलाकार संघकी बरिष्ट उपाध्यक्ष एवम् अभिनेत्री रेजिना उप्रेतीको सँयोजकत्वमा भएको यो च्यारिटी शोमा चार लाख रुपैयाँ भन्दा माथि उठेको छ । च्यारिटी शो सोचेको भन्द्या राम्रो भएको र सो रकम कलाकारको हक हित एवम् कार्यको लागि खर्च गरिने संयोजक रेजिना उप्रेतीले बताईन् ।  च्यारिटी शोमा चलचित्र यूनिट पनि उपस्थित थियो । चलचित्र हेरिसकेपछि अभिनेत्री परमिता राणा तथा अभिनेता बुद्दी तामाङले प्रतिक्रिया लिएका थिए ।

अभिनेत्री राणाले आफ्नो कामलाई प्रसंशा गरेकोमा सबैलाई धन्यवाद दिईन् । ‘यो चलचित्र राम्रो पनि बनेको छ त्यसकारण पनि माघ १७ मा हलमा गएर हेर्नुहोला अनि नेपाली चलचित्रलाई माया पनि गर्नुहोला’, प्रसन्न मुद्रामा राणाले भनिन् ।

अभिनेता तामाङले पनि राम्रो प्रतिक्रियाले खुशी लागेको बताए । ठट्यौली शैलीमा उनले भने, ‘चलचित्र हेर्नेहरुले मेरो र चलचित्रको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त ? छिमेकी ?’ तामाङले आफुले भन्नु भन्दा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने मूख्य कुरा रहेको साथै ‘दि कर्मा’ दर्शकलाई मन पर्छ भन्नेमा बिश्वास रहेको जनाए ।

चलचित्रका निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई चलचित्र मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए ।

सो क्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलीज नहुँदै चलचित्र प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए,‘च्यारिटीलाई चलचित्र निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त झन् टिकट समेत किन्नुभएको छ । यो सहयोग कलाकार संघले कहिल्यै बिर्सने छैन’, उनले भने

चलचित्रमा परमिता, बुद्दी, जयसँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

निर्माता श्रीदेव बि.एल.ले चलचित्र हेरेर दिग्गज कलाकारहरु सबैले राम्रो प्रतिक्रिया दिएको बताए । ‘दर्शकले पनि मन पराउनेमा पूर्ण बिश्वास छ । हाम्रो टीमले राम्रो चलचित्र बनाउने प्रयास गरेका छौँ’, बि.एल.ले बताए ।जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।