शम्भुजीतलाई अनेसास राष्ट्रकवि माधव घिमिरे गीति पुरस्कार


व्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक२१ हजार १०० राशी सहितको ‘अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीत पुरस्कार–२०७५’ बाट बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा पुरस्कृत भएका छन् । काठमाडौंमा एक समारोहबीच अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का तर्फबाट २१ हजार १०० रुपैयाँ सहित बासकोटालाई शुक्रबार साँझ पुरस्कृत गरिएको हो ।

सोही कार्यक्रममा अनेसास विशिष्ट सम्मान २०७५ बाट संस्कृतिविद चेतन कार्कीलाई सम्मानित गरियो । कार्यक्रममा अनेसास योगदान सम्मानबाट कवि तोया गुरुङ र साहित्यकार डा. रामदयाल राकेशलाई सम्मान गरियो ।

सोही कार्यक्रममा अनेसास नवरत्न सम्मानबाट गीतकार एवम् प्राज्ञ उन्नती बोहरा ‘सिला’, गायिका हरिदेबी कोईराला, कवि लक्ष्मी माली, युवा नाट्यकर्मी सम्पदा मल्ललाई सम्मानित गरियो ।

कार्यक्रममा प्राज्ञ एवम् गीतकार उन्नती बोहरा सिलाको गीति पुस्तक ‘फर्की आउ शान्ति तिमी’ र कथाकार अर्जुन थापाको कथासँग्रह ‘नाम मात्रको लोग्ने’ को बिमोचन अनेसासका अध्यक्ष राधेश्याम लेकाली, बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, संस्कृतिविद् चेतन कार्की, कथाकार मायाँ ठकुरीले लगायतले गरे ।

अनेसास बोष्टन च्याप्टरले हालै आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएका छन्द कविता तर्फका हरि भट्ट, गद्य कविता तर्फका सुदर्शन पौडेल र गजल तर्फका बिजेता पुरु लम्साललाई जनही २३ हजार २ सय रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो ।

यस्तै अनेसास वर्ष उत्कृष्ट पुस्तक पुरस्कार ४० हजार रुपैयाँ सहित उपन्यासतर्फ पद्मावती सिंहलाई प्रदान गरियो । जनही २० हजार रुपैयाँ सहितको वर्षको उत्कृष्ट पुस्तक पुरस्कार कविताबाट रामजी ज्ञवाली, मुक्ति प्रसाद उपाध्याय, सागर मुखियालाई र कथा तर्फ नरेन्द्र राज पौडेललाई प्रदान गरियो ।

कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले सम्बन्धित पुरस्कार र पुरस्कृत श्रष्टाबारे कार्यक्रममा प्रकाश पारे । अनेसासको यस पटक अमेरिकामा सम्पन्न सम्मेलनमा सहयोग पर्याउने विभिन्न व्यक्ति तथा मिडियालाई कार्यक्रममा प्रसंसापत्र समेत प्रदान गरियो ।