आईआईएफटी स्टाइल एन्ड डिजाइन सिजन–१मा ८६औं ब्याच विजेता


ब्युटी न्युज नेपाल
काठमाडोँ, ५ असार

“आईआईएफटी स्टाइल एन्ड डिजाइन सिजन–१” को ग्रान्ड फिनाले होटल र्याडिसन, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम फेसन तथा डिजाइन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलता, सीप, नवप्रवर्तन र व्यावहारिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो। यसले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ ।

प्रतियोगितामा १० विभिन्न ब्याचका ५५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीहरूले टोलीगत रूपमा प्रतिस्पर्धा गर्दै फरक–फरक विषयवस्तुमा आधारित १० वटा आकर्षक डिजाइनर पोशाक तयार गरेका थिए, जसलाई हाउस अफ फेसनका व्यावसायिक मोडलहरूले रनवेमा प्रस्तुत गरेका थिए ।

महिनौंको अनुसन्धान, डिजाइन विकास, सिर्जनात्मक अभ्यास तथा प्रस्तुतीकरणमार्फत विद्यार्थीहरूले आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगिताले कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक अभ्यासमा रूपान्तरण गर्दै व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आईआईएफटीले जनाएको छ ।

प्रतियोगितामा ८६औं ब्याच प्रथम हुन सफल भएको छ। विजेता टोलीमा यु यान वाङ (सेलिना शाही), सितल रुम्बा, सरिता चौधरी तथा चन्द्र खड्का रहेका छन् ।

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनद्वारा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले विद्यार्थीहरूको क्षमता, मेहनत र सिर्जनात्मकतालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान भएको बताए । उनले यस्ता कार्यक्रमहरूले भावी फेसन तथा इन्टेरियर डिजाइनरहरूलाई व्यावसायिक यात्राका लागि थप प्रेरणा र आत्मविश्वास प्रदान गर्ने उल्लेख गरे ।