पोखरामा जिफानले सिकायो अभियन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ वैशाख

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा बैशाख १६ गतेदेखि सुरु भएको कार्यशाला बैशाख २२ गतेसम्म पोखराको नदिपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको हो। कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो। अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहित वरिष्ठ कलाकार माओत्से गुरुंग, जिफानका सल्लाहकार कृष्ण कुमार गुरुंग , चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्याल उपस्थित हुनुभएको थियो। अध्यक्ष डिसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउनुभयो। गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

समापन समारोहका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। निकट भविष्यमा नदीपुर पोखरामा उदघाटन हुन लागेको हसंध्वनी ; एक्टर्स स्टुडियो को विशेष सहयोगको सनैले प्रसंशा गरेका थिए।
कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविश्वास, व्यावसायिक दृष्टिकोण र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्। जिफानका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन गुरुङले स्वागत मन्तव्य राखेको उक्त समापन कार्यक्रमको सञ्चालन महासचिव लब्सन गुरुङले गरेका थिए ।