ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ वैशाख
आगामी २५ वैशाख शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियरमा सहभागी विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी तथा दर्शकहरूले चलचित्रलाई अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक विषयवस्तुमा आधारित चलचित्रले २ घण्टा ३८ मिनेटसम्म दर्शकलाई पूर्ण रूपमा बाँधेर राख्न सफल भएको प्रतिक्रिया प्राप्त भएको छ।
चलचित्रमा अभिनेता विजय बरालको स्वाभाविक अभिनयले फेरि एकपटक प्रशंसा बटुलेको छ भने नायिका वर्षा राउतको अभिनयलाई उनको करियरकै उत्कृष्टमध्ये एक मानिएको छ। कमेडी कलाकारका रूपमा परिचित मेक्सम गौडेलले पनि यस चलचित्रमार्फत ठूलो पर्दामा प्रभावशाली उपस्थिति जनाएका छन्।
प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। चलचित्र हेरेपछि उनले कथा, अभिनय, संवाद र निर्देशनको खुलेर प्रशंसा गर्दै आफू चलचित्रभरि कतै पनि बोर नभएको बताए। उनले चलचित्रले हास्य र भावनालाई सन्तुलित रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत अन्य कलाकार तथा विशिष्ट व्यक्तित्वहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्देशक प्रकु पाण्डेय हुन्। यस चलचित्रको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्। प्राविधिक पक्षसमेत निकै उत्कृष्ट रहेको यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।





