जेन जी पुस्ताको आन्दोलनमा केन्द्रित गीत सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ बैशाख

पोखराको सांगीतिक समूह बफिन्स ९८ ले जेन–जी पुस्ताको आवाज समेटिएको नयाँ गीत ‘हाम्रो आवाज ( नयाँ नेपाल’ सार्वजनिक गरेको छ। यो सिर्जना केवल मनोरञ्जनमा सीमित नभई सामाजिक चेत र परिवर्तनको सन्देश बोकेको प्रस्तुति बनेको छ।

गीतमा बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका युवाहरूको भावना प्रस्तुत गरिएको छ। विशेषगरी भाद्र २३ मा देशभर उठेको युवा आन्दोलन, त्यस क्रममा देखिएको दमन र पीडालाई गीतले भावनात्मक रूपमा उजागर गर्छ। मार्मिक शब्दमार्फत राज्यले नसुनेका आवाज र नयाँ नेपालको चाहनालाई प्रभावशाली ढंगले व्यक्त गरिएको छ।

यस गीतका सर्जक तथा गायक सञ्जीव गुरुङ हुन्, जो लामो समयदेखि विदेशमा रहेर पनि देशप्रतिको भावनालाई संगीतमार्फत अभिव्यक्त गर्दै आएका छन्। उनले युवालाई आफ्नै भूमिमा फर्केर देश निर्माणमा योगदान दिन आह्वान गरेका छन्। संगीत संयोजन गुरुङ र सुमन तामाङले मिलेर गरेका हुन्।

गीतको भिडियो पनि सन्देशमूलक बनेको छ। हिमाल, पहाड र तराईका जनजीवनसँगै आन्दोलनको झल्को प्रस्तुत गरिएको भिडियोमा युवा ऊर्जा र एकताको भावना देख्न सकिन्छ। भिडियो निर्देशन तथा सम्पादन जीवन भाइले गरेका हुन्।

‘हाम्रो आवाज ( नयाँ नेपाल’ ले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासन र सकारात्मक परिवर्तनको पक्षमा उभिएका सबै युवाहरूलाई समर्पित गरिएको सन्देश दिएको छ।