ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ
अभिनेत्री रेखा थापा चलचित्र ‘फ्रेन्च किस’मा अनुबन्धित भएकी छन् । केही समययता राजनीतिभन्दा अभिनयमा सक्रिय देखिएकी रेखा नयाँ पुस्ताको लभस्टोरी भनिएको यस चलचित्रमार्फत दर्शकमाझ आउन लागेकी हुन् । हाल चितवनका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको निर्माण टिमले जनाएको छ ।
कार्यकारी निर्माता सौगात बस्नेतका अनुसार रेखाको प्रवेशसँगै चलचित्र थप सशक्त र आकर्षक बन्ने विश्वास लिइएको छ । उनका अनुसार लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखाले आफ्नो दमदार अभिनय र लोकप्रियतामार्फत छुट्टै पहिचान बनाएकी छन् । ‘फ्रेन्च किस’मा उनी फरक ढंगले प्रस्तुत हुने बताइएको छ ।
सौगात बस्नेत कार्यकारी निर्माता तथा सुभाष बी। शाही सह–निर्माता रहेका छन् । सुदीप बरालको सिनेमेटोग्राफी र दीपक बज्राचार्यको संगीत रहने चलचित्र सन् २०२६ भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
ए.टी.एफ. प्रोडक्सन प्रा।लि।को ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्देशन अभिनेता अर्पण थापाले गरिरहेका छन् । चलचित्रमा अर्पण थापा, ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो र अभिनेत्री गौरी मल्ल मुख्य भूमिकामा छन् ।



