इन्टरनेशनल नेपाली फिल्म फेस्टिभलको लागि चलचित्र आह्वान


ब्युटी न्युन नेपाल
काठमाडौँ, १ पुस

इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्डले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम (२०२६) भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरिएको छ । नेपाली चलचित्रको प्रवद्र्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित यो महोत्सव गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ। आयोजक संस्थाले प्रेस बिज्ञप्ति जारी गर्दै फिल्म फेस्टिभल घोषणा गरेको हो । यस महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवद्र्धन गर्नुका साथै सिर्जनात्मक र व्यावसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु हो। प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरु आह्वान गरिएको छ। चलचित्र बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ ।

महोत्सवअन्तर्गत उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना गरिनेछ ।

नेपाली फिल्म फेस्टिभल एण्ड अवार्डका अध्यक्ष राजेन्द्र घिमिरे हुन् महोत्सव निर्देशक (नेपाल) जनक दीप पराजुली रहेका छन् । महोत्सवमा हजारौँ दर्शक र चलचित्रकर्मी सहभागी हुने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ ।

यस वर्षको निर्णायक मण्डलको प्रमुख जूरीका रूपमा अभिनेता कृष्ण मल्ल रहनेछन्। जूरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन् ।