‘सोल्टिनी’को ट्रेलरमा अन्तरजातीय प्रेम द्धन्द्ध


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज

नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । आगामी भईटीकाबाट रिलिज हुने यो चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा काठमाडौंमा आयोजित उक्त कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

बाहुनको छोरा र राईकी छोरी बिचको प्रेम सम्बन्धले ल्याएको समस्या र अन्तरजातीय विवाहको विरोधको कथा यो चलचित्रको ट्रेलरमा समेटिएको छ । यसको कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।