ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार 

अब नेपाली चलचित्र ‘सानो मन’ २७ असारमा मात्र मुलुकका सिनेमा हलमा रिलीज हुने भएको छ । यो चलचित्रलाई यसअघि २० असारमा रिलीज गर्ने भनिएको थियो ।

चलचित्रलाई अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक साता पछि रिलिजका लागि सारिएको निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ,‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो ।’ निर्माता मानन्धरले भने,‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं । यसलाई दर्शकलाई बुझिदिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

चलचित्र सानो मनमा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र हो ।

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो ।

चलचित्रको शिर्ष गीत सानो मन…तीन दिन अघि हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको छ । गीतलाई दर्शकले मन पराएका छन् । गीतमा अभिनेता आयुषमान देसराज र अभिनेत्री शिल्पाको अभिनय छ ।