प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री खनालको एल्बमको घुम्टो खोले


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

पूर्वप्रधानमन्त्री एवम् नेकपाका सचिवालय सदस्य तथा झलनाथ खनालले नयाँ गीतिसंग्रह ‘परिवर्तनका स्वरहरू भाग–२’ श्रोतामाझ ल्याएका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो काठमाडौंका कमलादिस्थित प्रज्ञा भवनमा जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा सो गीतिसंग्रहको घुम्टो खोल्दै विमोचन गरे ।

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको गीति लेखन पक्षको प्रशंसा गदै भने, ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले राम्रो सिर्जना गर्नुभएको छ । उहाँको सिर्जनाशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।’

पूर्व प्रधानमन्त्री एवम् गीतकार खनालले आफ्नो गीतिसँग्रह ‘परिवर्तनका स्वरहरू भाग १’ ०६५ सालमा तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनमा सार्वजनिक गरिएको जानकारी गराउँदै एक दशकपछि दोश्रो गीति सँग्रह ल्याएको बताए ।
देशप्रेम, विकास, निर्माण, समृद्धि, आमा, गृह जिल्ला इलामका सन्दर्भमा लेखिएका गीत संग्रहमा समावेश गरेर यो सँग्रह ल्याएकोे जानकारी गराउँदै खनालले भने, ‘देश समृद्ध बनाउनका लागि अब स्रष्टाले विकास र निर्माणका साथै समृद्धिका पक्षमा कमल चलाउनुपर्दछ ।’

कार्यक्रम आयोजक संस्था जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राईले पनि पूर्व प्रधानमन्त्री खनालको गीति लेखनको चर्चा गर्दै सँग्रहका गीतबारे प्रकाश पारे ।

सँग्रहका गीतमा मिलन तिमल्सिनाको संगीत छ । यी गीतमा कलाकार यम बराल, आनन्द कार्की, ज्ञानु राणा, खुमन अधिकारी, अन्जु घिमिरेसहित १४ जना गायक गायिकाको स्वर रहेको छ ।