रंगशाला बनाउन मजदुर बनेर श्रमदानमा उत्रिए धुर्मुस–सुन्तली 


ब्युटी न्युज नेपाल

काठमाडौं ३० फागुन

धुर्मुस सुन्तली फाउण्डेसनको अभियानमा निर्माण कार्य थालनी गरिएको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलको प्रारम्भिक कार्य सुरु भएको छ ।

यो अभियानका अभियान्ता एवम् हाँस्यब्याँग्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जन घिमिरे (सुन्तली) आफैं मजदुरको रुपमा उत्रिएका छन् । यी दुईले रंगशालाको प्रारम्भिक कार्यका लागि मँगलरबार र बुधबार दुई दिन श्रमदान गरेका छन् । श्रमदानको क्रममा बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्ने जस्ता कार्यमा उनीहरु दिनभर तल्ल्नि देखिए ।

निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ  । भरतपुर महानगरपालिका वडा नं १५ शान्तिचोकमा निर्माणाधीन रंगशाला बनाउने चटारोले ‘धुर्मुस’ र ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । निमार्ण स्थल पुगेका धुर्मुस देखेर कामदार समेत रमाए ।

उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए ।

निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ । उनले शिलान्यास गरेको दुई वर्षमा रंगशाला निर्माण हुने बताएका छन् ।

तीन करोड नेपालीहरुको सहयोगलेनै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपनाहो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने,‘यो देश बिकासकालागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिए पछि अब बिकासको आन्दोलनमा सबै सहभागि हुन जरुरी छ ।’