ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

आगामी १७ फागुनबाट प्रदर्शनीमा आउने चलचित्र ‘क्याप्टेन’को लोक भाकाको गीत कर्ली कर्ली कपाल…को भिडियोमा एउटा नायिकाको लागि दुई नायकको घम्सा घम्सी देख्न पाईन्छ । चलचित्रकी अतिथि अभिनेत्री निरुता सिंहसँग भिडियोमा केसी बाउ–छोरा भुवन र अनमोलले नृत्य गरेका छन् ।

नृत्यमा अनमोललाई सुरुमा फुटबलसँग खेलेको देख्न पाईन्छ । त्यसपछि अभिनेत्री निरुता र अनमोलको नृत्य गराईएको छ । गीतको मध्यतिर अभिनेता भुवन केसी प्रस्तुत हुन्छन् । अन्त्यमा अनमोल र भुवनले निरुतालाई तानातान गर्छन । अनमोलबाट खोसेर भुवनले निरुतालाई बोकेर नाच्छन् । भिडियो सकिन्छ ।

गीतको भिडियोले यसरी एउटा कथा बोकेको छ । गीतको भिडियो निर्देशन रिनासा वान्तवा राईले गरेकी हुन् । भिडियोको लोकेशन देखि प्रस्तुतिसम्ममा कुनै नयाँपन छैन । किनकी यस अघि नै बलिउड फिल्मको ए जवानी हे दिवानीको गीत घाँगरा…मा प्रस्तुत गरिएको ‘लोकेशन सेटअप’ देखि कोरियोग्राफी स्टाईलसम्म कर्ली कर्ली कपाल…मा उतारिएको छ ।

गीतलाई हर्क साउद र मनिष ढकालले लेखेका हुन् । जसमा एसडी योगी र सुसान्त गौतमको संगीत छ । गीतलाई योगी र मेलिना राईले गाएका हुन् । शुक्रबार दिउँसो काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो । सुदीप बरालको छायाँकनमा गीत तयार भएको हो ।