समर लभको नेपाल यात्रा


ब्युटी न्युज नेपाल
काठमाडौं ८ माघ

२५ माघबाट देशब्यापी रिलिज हुने चलचित्र समर लभले आफ्नो मोफसल यात्रा टुँग्याएको छ । सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मले पहिलो चरणको यात्रा पुरा गरेको हो ।

मोफसलका स्थानीय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै मोफसल यात्रा सुरु गरेको हो ।
पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ’समर लभ’ टिम पुगेर पहिलो चरणको यात्रा सम्पन्न गरेको हो । चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षत्री सहितको यात्रामा सहभागी भए ।

मुस्कान ढकाल निर्देशित समर लभलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । बिनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ यसमा लाईन प्रोड्यूसर हुन् । सोपन सरकार र मनोज बिक यसमा सह निर्माता रहेका छन् ।
फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् ।

सुविनको उपन्यासलाई फिल्ममा ढाल्दा यसको पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । जसमा सामिप्य र सुबिनले सम्बाद लेखेका हुन् ।

यो बीचमा फिल्ममा समावेश ’हेरन बाँझो मनभरी…’ बोलको गीतको जिङ्गल पनि सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगीतिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।