ब्युटी न्युज नेपाल
काठमाडौं २९ पुष

मुलुकका सात दर्जन सिनेमा हलमा शुक्रबारबाट रिलिज भएको चलचित्र चौका दाउ शनिबार सबैजसो हलमा हाउसफुल भएको यसका निर्माता मनोज राजभण्डारीले जानकारी गराएका छन् ।

शुक्रबार बिहानको सो निकै खुकुलो भएकोमा दिउँसोको शोबाट यसले राम्रो पिकअप लिएको हो । निर्माता राजभण्डारीले भने,‘ शनिबार मल्टिप्लेक्स र सिँगलगरी सबै थिएटरमा हाउसफुल भयो । माउथ पब्लिसिटी राम्रो भएका कारण आइतबारको व्यापार पनि राम्रो छ र मँगलबार माघे सक्रान्ती परेकाले त्यो दिन पनि सबैतिर हाउसफुल हुने हाम्रो विश्वास छ ।

सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ का परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएको छ । फिल्म हेरेका दर्शकले पुरा मनोरञ्जन लिएको प्रतिक्रिया आफुहरुले पाएको उनले बताए । शनिबारको व्यापारले आफुहरु उत्साहित भएको पनि उनले जानकारी गराए । निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेको हो । यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाईन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशँकर रिजाललगायत छन् ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ ।