शशी र लक्ष्मीलेको सांगीतिक शुभारम्भ


ब्युटी न्युज नेपाल
काठमाडौं १ पुष

आफ्नो पहिलो गीति संग्रह ‘शुभारम्भ’लाई गायक तथा संगीतकार शशी घिमीरे र गीतकार लक्ष्मी अर्यालले बजारमा ल्याएका छन् । शनिबार बरिष्ट लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ,बरिष्ट गीतकार डा. कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी, संचारकर्मी, अभिनेता भोलादीप तिमिल्सिनालगायतकाले संयुक्त रुपमा बिमोचन गरे ।

हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शशीले लामो समयको अभ्यासपछि अहिले आएर आफ्ना गीतलाई एल्बम आकारमा परिणत गर्न पाएकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, रचनाकार लक्ष्मीले आफूले बच्चैदेखि गीत रचना गर्ने गरेको भए पनि एल्बमका रुपमा भने शुभारम्भबाट नै आरम्भ गरेको बताइन् ।

गायक नरहरिले शुभारम्भमा समाबेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्पी र शशीको गायन कलाको तारिफ गरेका थिए । शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले समीक्षा गरे । उनले लक्ष्मीको रचना र शसीको गायनमा निकै तालमेल मिलेको समेत बताए । गायक कुमार बस्नेतले नेपाली सांगीतिक फांटमा शशी र लक्ष्मीको शुभारम्भलाई शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा एल्बममा समाबेश सपनीमा डुल्छ्यौ तिमी… गीतको भिडियो प्रदर्शन गरिएको थियो । नारायण ओलीको संगीत रहेको सो गीतको भिडियोमा महाबिर बिस्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । भोलादीप तिमिल्सिनाले निर्देशन गरेको सो भिडियो रोहित बिक्रम कार्कीले खिचेका हुन् । कार्यक्रममा गायक शशीले आफ्नो गायन यात्रा अब अनवरत अघि बढ्ने बताए ।