राष्ट्रकवि घिमिरेलाई नातिकाजी स्मृति अभिनन्दन


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ मंसिर

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’ले अभिनन्दन गरेको छ । नातिकाजीको ९३ औं जन्म जयन्तीको अबसर पारेर शनिबार उनकै घरको प्राङ्गनमा ५० हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर राष्ट्रकवि घिमिरेलाई समाजका तर्फबाट नातिकाजी स्मृति अभिनन्दनबाट अभिनन्दित गरिएको हो । नातिकाजी र राष्ट्रकविको सांगीतिक यात्राले नेपाली संगीत क्षेत्रले उत्कृष्ट सृजना पाएकाले राष्ट्रकविलाई अभिनन्दन गरिएको कार्यक्रममा जानकारी गराईयो ।

सोही कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट अग्रज लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो । यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायन तर्फ अग्रज गायक एबम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई र अग्रज गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मान गरियो । यही सम्मान गीतकार तर्फ बरिष्ट चिकित्सक गीतकार द्धय डा. भोला रिजाल र डा. अरुण सायमीलाईसम्मानित गरियो ।

सोही कार्यक्रममा नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४बाट संगीत तर्फ स्व. रमेश ताम्राकारलाई र पत्रकारिता तर्फ बरिष्ट पत्रकार एवम् कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई सम्मानित गरियो ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकार तर्फ अग्रज गीतकार सुवासचन्द्र ढुँगेललाई, गायत तथा संगीत तर्फ गायिका एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली र चर्चित गायक राजेशपायल राईलाई पुरस्कृत गरियो । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीत तर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेष (बिडारी)लाई, गायक तर्फको अवार्ड युवा गायक प्रमोद खरेललाई र गायिका तर्फको अवार्ड मीना निरौला पोखरेललाई प्रदान गरियो । यी तीन जना श्रष्टालाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत गरिएको थियो ।

नातिकाजी स्मृति समाजलाई निरन्तर सहयोग पुर्याउनेहरु मध्यबाट यसपटक सुरुँगा झापाका शिक्षासेवी द्विराज शर्मा शिवाकोटीलाई सम्मानित गरियो । दिवंगत अग्रज संगीतकार नातिकाजीको ९२ औं जन्म जयन्तीको अबसर पारेर गतवर्ष घोषणा गरिएको यो सम्मान र पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेले समारोहमा प्रदान गरे ।

राष्ट्रकवि घिमिरेले नातिकाजी जस्ता अजर श्रष्टाको सम्झनामा स्थापित नातिकाजी स्मृति समाजबाट अभिनन्ति हुँदा निकै खुसी लागेको बताए । नातिकाजीसँग बिगतमा बिताएका क्षणहरुको स्मरण गर्दै आफ्ना गीतहरुमा निकै कर्णप्रिय संगीत भरेर ती गीतलाई नातिकाजीले नै उत्कृष्ट बनाएको बताए ।

सम्मानित श्रष्टाहरु मध्यबाट कार्यक्रममा बोल्दै गीतकार डा. भोला रिजालले नेपाली संगीतको विकाशमा नातिकाजीको उल्लेख्य योगदान रहेको र उनको स्मृतिमा स्थापित सम्मान एवम् पुरस्कार आफुहरुले प्राप्त गर्दा अझ गर्व बढेको बताए । राष्ट्रकविको हातबाट यस्तो गरिमामय पुरस्कार पाउँदा झनै खुखी लगेको छ भने ।

नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा आ आफ्नो क्षेत्रबाट विशिष योगदान पुर्याएको कारण सम्बन्धित श्रष्टालाई यी सम्मान एवम् पुरस्कार प्रदान गरेका हौं भने । उनले सम्मानित तथा पुरस्कृत श्रष्टाहरुको बारेमा पनि कार्यक्रममा प्रकाश पारे ।

गायिका एवम् सांसद कोमल ओलीले पनि नेपाली संगीतमा नातिकाजी र राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरिन् । महाविधालय स्थापना गर्न आफुहरुले निरन्तर पहल गरिरहेको उनले बताईन् ।
सो पुरस्कार समारोहमा नातिकाजीको स्मृतिमा उनीद्धारा संगीतबद्ध केही गीतहरु गायक राजेश पायल राई र गायिका मिना निरौला पोखरेलले गाएर सुनाए ।