प्रसादको सुखद सुरुवात


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २१ मंसिर 

शुक्रबारबाट मुलुकका सात दर्जन भन्दा बढी सिनेमा हलमा चलचित्र प्रसाद एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रले पहिलो दिन राम्रो व्यापार गरेको छ ।

निर्माता सुवास थापाको अनुसार शुक्रबार धेरै जसो हल हाउसफुल भयो । शनिबार पनि क्युएफएक्स लगायतका सिनेमा हलमा सबैभन्दा बढी शो प्रसादले पाएको छ । क्युएफएक्सको अग्रिम बुकिङ उत्साह जनक भएको पनि उनले बताए ।

यो चलचित्रलाई दिनेश रातउले निर्देशन गरेका हुन् । फिल्मको बुधबार प्रिमियर शो गरिएको थियो । प्रिमियरमा सिनेकर्मी तथा सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएको प्रसादले शुक्रबार दर्शकबाट पनि प्रसँसा पाएको छ । फिल्म हल सञ्चालकका अनुसार पनि प्रसादले मल्टिप्लेक्ससँगै सिँगल थिएटरमा पनि दर्शकको राम्रो साथ पाएको छ ।

यो चलचित्रमा बिपिन कार्की, नम्रता सापकोटा, निश्चल बस्नेत, बसुन्धरा भुषालसहितको मुख्य भूमिका छ । चलचित्रले सकरात्मक प्रतिक्रिया पाएकोमा कलाकारहरुले पनि खुसी व्यक्त गरेका छन् ।

यो चलचित्रलाई सञ्चारकर्मी शुशिल पौडेलले लेखेका हुन् । जीवन निर्वाहको सानो सपना बोकेर काठमाडौं छिरेका दम्पत्तिले सन्तान नहुँदा भोग्नु परेको पीडालाई चलचित्रको मुख्य बिषय बनाईएको लेखक पौडेलले बताएका छन् ।