स्वर सम्राटको सम्झना उनकै गीतबाट


ब्युटी न्युज नेपाल
काठमाडौं १९ मंसिर

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) नाचघरका पूर्व महाप्रबन्ध स्वर सम्राटलाई संस्थानका कलाकारले बुधबार बेलुका उनकै गीतबाट सम्झिए । सो क्रममा संस्थानका कलाकारले स्वर सम्राटका गीतसंगीत प्रस्तुत गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरे ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आयोजना गरेको सो कार्यक्रममा नारायणगोपालको तस्बिरमा माल्यार्पणसँगै गाउन सुरु भएको थियो । सो क्रममा संस्थानका कलाकारले स्वर स्रमाटका गीत प्रस्तुत गरे ।

संस्थानका प्रशिक्षार्थी कलाकारले कस्तुरी हे बास आउँछ…गीतबाट गायन कार्यक्रम सुरु गरेका थिए । त्यसपछि तीर्थराज पोखरेलले तिमीले पनि मजस्तै…, विपिन घिमिरेले तान चलाउनु…, दीपेन्द्र बज्राचार्यले कसरी म भुलें…जस्ता गीत गाएर स्वर सम्राटलाई सम्झिए ।

यस्तै, संस्थानकै कलाकार शिला विष्टले स्वर सम्राटलाई सम्झने क्रममा उनको मलाई नसोध…, आकाश थापाले जता हिँड्यो उतै तान्ने…, विपिन र शिलाले पहाडको माथि…, राधिका भण्डारीले मेरो सानो संसार… र नरेन्द्र प्यासीले तिम्रो जस्तो मुटु…बोलको गीत गाएका थिए ।

संस्थानका महाप्रबन्धक राजेश थापाले स्वर सम्राटले संस्थानमा महाप्रबन्धक हुँदा गरेका विभिन्न उल्लेख्य कार्यको चर्चा गरे । नेपाली सुगम संगीतसँगै सांस्कृतिक संस्थानको विकासमा स्वर सम्राट नारायण गोपालको पनि उल्लेख्य योगदान रहेको बताए ।

कार्यक्रममा प्रकाश सायमीले स्वर सम्राटको सांगीतिक यात्राबारे चर्चा गरेका थिए । स्वर सम्राटले क्रसमा टाँगिएको जिन्दगी जस्तो सफल नाटक नाचघरमा मञ्चन गरेर प्राप्त कमाईले महाप्रबन्धकका लागि गाडी किनेको सहित विभिन्न रोचक स्मरण सायमीले कार्यक्रममा सुनाए ।