‘नाम मेरो जनक हो गन्धर्व हो थर
आकाश छानो छ धरती मेरो घर…’

सडकमा गीत गाएको कमाईले आफ्नो बुबा आमा र भाईलाई पाल्दै आएका बाल गायक जनक गन्धर्वले आफ्नो पहिलो गीतको रुपमा यो शब्द रेकर्ड गरेका छन् ।

काठमाडौंको थापागाउँ स्थित प्रज्ञा रेकर्डिङ स्टुडियोमा मँगलबार उनले यो गीत रेकर्ड गरेका हुन् । उनका सहयोगी एवम् कलाकार, सञ्चारकर्मी शिशिर भण्डारी र लक्ष्मणको सहयोगमा जनकले गीत रेकर्ड गराएका छन् ।

सडकमा गीत गाउँदै हिड्ने क्रममा भएको आफ्नो कमाई घर पठाएर परिवारको खर्च धानेका जनकले गीत रेकर्ड गरेर आफुलाई व्यबसायिक गायनमा पनि अघि ल्याएको कलाकार शिशिरले बताए ।

बुबा आमा शारीरिक रुपमा केही कमजोर भएपछि परिवारको जिम्मेवारी आफ्नो थाप्लोमा आएको जनकले बताए । पहिलो पटक गीत रेकर्ड गर्न पाउँदा खुसी लागेको पनि उनले जानकारी गराए ।

जनकको घर जिर्ण अबस्थामा रहेकाले उनको घर निर्माणका लागि समेत शिशिरले पहल गरिरहेका छन् । यो गीतले जनकलाई आर्थिक सहयोग गर्नेहरुलाई प्रेरणा दिने र जनकलाई गायनमा अघि बढाउने विश्वास शिशिरको छ ।

१३ वर्षीय जनकको गीत गाएर कमाउनकै लागि तीन महिना अघि काठमाडौं आएका थिए । उनको साँगीतिक यात्रा, गीत रेकर्डिङ गर्दाको खुसी र उनका बाँकी थप नयाँ गीतको बारे ब्युटी न्युज नेपालकी समाचारदाता सरिता भारतीले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।