‘बुलबुल’को गीत पाँच सहरबाट एक साथ आउँदै


व्युटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक

चलचित्र ‘बुलबुल’को गीत खुद्राखाद्री…लाई फ्ल्यास मोब शैलीमा पाँच शहरमा कन्सर्ट गरेर बुधबार रिलिज गरिने भएको छ । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न चाल्छन् ।

१५ कात्तिक दिउँसो ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् । निर्माण टिमले जानकारी गराए अनुसार फिल्मको गीत सो दिन काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो ।
काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र एक सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ ।  गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

फिल्ममा स्वस्तिमा खडकासँगै मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म ३ फागुनमा रिलिज हुँदैछ ।