जय भोलेको व्यापार एक सातामा ३ करोड २ लाख


व्युटी न्युज नेपाल
काठमाडौं ७ कात्तिक

दशैंको अबसरमा ३० असोज फुलपातीबाट रिलिज भएको नेपाली चलचित्र ‘जय भोले’को एक साताको व्यापार विवरण सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो चलचित्रको वितरक संस्था डिजिटल सिनेमा नेपालको तर्फबाट जय भोलेको एक साताको समग्र व्यापार विवरण सार्वजनिक गरिएको हो ।

डिसिएन नेपालका अध्यक्ष एवम् जय भोलेका निर्माता निर्देशक अशोक शर्माका अनुसार एक सातामा यो चलचित्रले कुल ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको कुल व्यापार गरेको छ ।

‘पहिलो सातामा मैले सोचेको भन्दा राम्रो व्यापार गरेको छ । छक्का पञ्जा ३ जस्तो ब्राण्डेड फिल्मसँग जुधेर भए पनि हामीले सोचेको भन्दा राम्रो व्यापार गरेका छौं ।’ पत्रकार भेटघाटका क्रममा शर्माले भने,‘दोस्रो साताबाट जय भोलेको कमाई भनेको हाम्रो नाफा हो । हाम्रो मेहनतसँगै दर्शकको मायाँ र उहाँहरुको मन जित्न सफल भएका कारण यो सिनेमाको व्यापार अझै उत्तिकै राम्रो भईरहेको छ ।’

आफ्नो चलचित्र दोस्रो साता पनि मुलुकका ११८ ओटा सिनेमा हलमा प्रदर्शन भईरहेको निर्माता निर्देशक शर्माले जानकारी गराए । उनका अनुसार केही हलमा यो फिल्म एकल रुपमा र केही हलमा केही शोको रुपमा भए पनि प्रदर्शन भईरहेको छ ।

झापा आसपासको क्षेत्रमा छायाँकन गरिएको यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक शर्मासहितको अभिनय छ ।