उपन्यास छोट्टी ल्याए कर्णालीका बखतबहादुरले


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

कर्णाली प्रदेशको जनजीवनलाई साहित्यमा उतार्दै आएका युवा साहित्यकार बखतबहादुर शाहीले नयाँ उपन्यास ‘छोट्टी’ बजारमा ल्याएका छन् । काठमाडौंमा शिखा बुक्सले आयोजना गरेको एक कार्यक्रमा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुन नसिंह केसी, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयम् तथा शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलद्वारा संयुक्त लोकार्पण गरेका छन् ।

अर्जुन नसिंह केसीले यस उपन्यास कर्णालीको दस्तावेजको रुपमा रहनेछ भन्नेमा विश्वास लिएको बताए । उनले लेखकलाई शुभकामना दिँदै कर्णालीको अवाज यहाँसम्म ल्याएकोमा आउँदा लिनको लागि शुभेच्छा व्यक्त गरे ।

साहित्यकार भुवनहरि सिग्देलले छोट्टी उपन्यासको समग्र पक्षमाथि समीक्षात्मक टिप्पणी राखेका थिए । उनले उपन्यास भित्र उल्लेख गरिएको सामाजिक सुधारको चेत उल्लेखनीय भएको बताए । कर्णाली भेगको कथा रहेको यस उपन्यासले इतिहास देखि वर्तमानसम्म समेटेको बताए,‘यो नारीप्रधान उपन्यासमा हुम्लामा जन्मिएकी बालिका जो सङ्घर्ष गर्दै नर्स हुन सफल रहनेको कथा हो । साथै जहाँको कथा त्यहीँको भाषा र कलमले लेखिएको उपन्यास विशेष रहेकाले यसले महिला विभेदको अन्त्य गर्न सहयोग गर्ने छ ’ उनले भने ।

कार्यक्रममा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपन्यास माथि स्वागत मन्तव्य दिँदै साहित्यकार हेमन्त विवसले उपन्यासको परिचय गराए । पत्रकार अमृत भादगाउँलेले छोट्टी उपन्यास कर्णालीको आँखीझ्याल भएको बताए ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले सामजमा रहेको महिला हिंसा, छुई प्रथा, सामाजिक विवाहवारी प्रथा र परम्परा जस्ता विषयलाई उठान गरेको लेखक बखतबहादुर शाहीले बताए । २०० पेजको यो पुस्तकको मूल्य ३२५ रूपैयाँ रहेको छ ।