व्युटी न्युज नेपाल

काठमाडाैं 

सत्यराज चौलागाई नयाँ चलचित्र अनुरागका निर्देशक हुन् । उनले यसअघि मायाँको बारीमा, समय, कोहिनुर, भाग सानी भाग, म यस्तो गीत गाउँछु लगायतका चलचित्रको मुख्य सहायक निर्देशन गरेपछि सत्यराजले चलचित्र अुनरागबाट निर्देशनमा डेब्यु गरेका हुन् । अनुराग यही १२ असोजबाट देशव्यापी प्रदर्शन हुँदैछ । यो चलचित्रको पटकथा सम्बाद लेखक पनि सत्यराज हुन् । उनले आगात केसीसँग मिलेर यो फिल्मको क्रिप्ट तयार गरेका हुन् । जसमा किरण दाहालको कथा छ । चलचित्र अनुरागको बारेमा नव निर्देशक सत्यराजसँग व्युटी न्युज नेपालका लागि गरिएको कुराकानी ः

चलचित्र अनुराग कस्तो फिल्म हो ?
यो एउटा सांगीतिक प्रेमकथामा आधारित चलचित्र हो । संगीतमा भविष्य बनाउन चाहने पुस्ताहरुका लागि यो चलचित्र अत्यन्त सान्दर्भिक छ । यतीमात्र हैन, संगीत रुचाउन जो कोहीका लागि पनि चलचित्र अनुराग महत्वपूण छ । यसले अहिलेका पुस्ताको सांगीतिक क्रेज कस्तो भन्ने दर्शाउँछ । संगीत प्रति युवा पुस्ताको क्रेज भएकै कारण अहिले टेलिभिजनमा सबैभन्दा बढी हेरिने कार्यक्रममा दुई सांगीतिक रियालिटी शो छन् । यो हिसाबले पनि अहिले संगीतको युग फेरी फर्किएकाले मैले सांगीतिक चलचित्र अनुराग निर्माण गरेको हो ।

चलचित्र अनुरागमा सबैजसो नयाँ कलाकार राख्नु भएको छ नी ?
चलचित्र अनुरागमा नायक र नायिका नयाँ हुन् । चलचित्रका लागि कथा अनुसार नयाँ नायक नै चाहिने भएकाले हामीले अडिसनबाट नव नायकको रुपमा समुन्द्र पण्डितलाई राखेका हौं । यस्तै अनुरागकी नायिका एलिजा गौतम आफैं यो चलचित्रकी निर्माता हुनुहुन्छ । बाँकी यो चलचित्रका कलाकारहरु सरोज खनाल, माेहन निराैला, रुपा राना, राजाराम पौडेल, शिषिर राणा, कमलकान्त मैनाली, विश्व बस्नेतलगायत सबै अग्रज र चलेका कलाकार हुनुहुन्छ ।

चलचित्र अनुरागलाई पत्रकार ऋषी धमालाले निर्माण गर्नु भएको हो । एउटा लोकप्रिय पत्रकारसँग फिल्म निर्माण गर्दा कत्तिको सहज भयो ?
पत्रकार ऋषी दाईसँग काम गर्दा साह्रै सजिलो भयो । फिल्म निर्माणमा उहाँले निकै सघाउनु भयो । कहिल्यै हस्तक्षेप गर्नु भएन । उहाँकै कारण अहिले प्रदर्शनीमा आउने अरु चलचित्र भन्दा अनुरागको प्रचार प्रसार धेरै नै माथि छ । उहाँ चलचित्र प्रति निकै सचेत हुनुहुन्छ । यहाँसम्मकी फिल्म सबैले बसेर हेर्न मिल्ने बनोस भनेर उहाँले नायिका र नायकलाई सोभर रुपमा प्रस्तुत हुन, छोटा कपडा नलगाउन र अश्लिल हाउभाउ प्रस्तुत नगर्न पनि सल्लाह दिनु भयो । एउटा लोकप्रिय पत्रकारले पक्कै फिल्ममा हस्तक्षेप गर्नु हुन्छ की भन्ने मेरो सोचाई थियो । तर उहाँ त मैले सोचेको भन्दा उल्टो अर्थात धेरै नै सहयोगी व्यक्ति पो हुनुहुँदो रहेछ ।

अनुरागसँग अरु दुई सिनेमा पनि आउँदैछन् । प्रतिस्पर्धा कस्तो छ ?
चलचित्र अनुराग बिशुद्ध प्रेम कथामा आधारित सांगीतिक एवम् पारिवारिक चलचित्र हो । यो चलचित्रलाई परिवारका सबै सदस्यले सँगै बसेर हेर्दै मनोरञ्जन लिन सक्नु हुन्छ । यो फिल्ममा त्यस्तो नराम्रो दृष्य केही पनि छैन । यो सबै धर्म, बर्ग, समुदायले हेर्ने अर्थात समस्त नेपालीले हेर्ने चलचित्र बनेको छ । तर बाँकी दुई सिनेमा यस प्रकारको नभएको दर्शकलाई थाहै छ । त्यसैले म आफ्नो सिनेमा दर्शकले रुचाउनु हुनेछ भन्नेमा ढुक्क छु ।

अनुरागको व्यापारको कस्तो आशा गर्नु भएको छ ?
अहिले सिनेमा चल्ने मौसम छ । दशैं नजिकिँदै छ । कैयौं नेपालीहरु अबको दुई हप्ता पछिबाट काठमाडौं छोडर गाउँ जाँदै हुनुहुन्छ । उहाँहरुले पक्कै पनि अनुराग हेरेर जानुहुने हाम्रो विश्वास छ । उहाँहरुको शुभयात्राको कामना पनि हामी गर्दछौं । अहिलेसम्म हामीले चलचित्र अनुरागको रिलिज गरेको गीतहरुलाई दर्शकले रुचाउनु भएको छ । फिल्मको ट्रेलरलाई पनि दर्शकले त्यत्तिकै रुचाउनु भएको छ । त्यो हिसाबले पनि फिल्म सफल हुनेमा हामी धेरै नै आशाबादी छौं ।