रोज दोस्रो सातामा पनि हाउसफुल, आयो नयाँ गीतको भिडियो


व्युटी न्युज नेपाल
काठमाडौं ३० भाद्र

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र रोज दोस्रो सातामा पनि शनिबार सबैजसो हलमा हाउफुल भएको रिपोर्ट छ । मुलुकका साँढे तीन दर्जन सिनेमा हलमा यो फिल्म दोस्रो साता प्रदर्शन भईरहेको यसका वितरक गोविन्द शाही र मनोज राठीले जानकारी गराएका छन् ।

गोविन्द शाहीका अनुसार काठमाडौंको मल्टिप्लेक्स र सिँगल थिएटरमा समेत रोज शनिबार पनि हाउसफुल भएकोे छ । शनिबार गोपिकृष्णको गोपि, गुण, अष्ट, बाराही, क्युएफएक्स सिभिज, एफक्युज केल टावर, कलँकी, बिएसआर बालाजु लगायतका फिल्महलहरुमा हाउसफुल भएको वितरक शाहीले जानकारी गराए ।

यो चलचित्र प्रदर्शन भएको पहिलो साता बिहिबारसम्मको व्यबसायिक रिपोर्ट सार्वजनिक गर्दै रोजले २ करोड ७६ लाखको व्यापार गरेको वितरकद्धयले जानकारी गराएका छन् । शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भएको रोजले शनिबार मोफसलका हलमा पनि राम्रो व्यापार गरेको छ ।

रोज २२ भदौबाट देशव्यापी प्रदर्शनमा आएको हो । यो फिल्म गत शुक्रबार, शनिबार र बुधबार (तीज)को दिन सबैजसो सिनेमा हलमा हाउसफुल भएको थियो । यो शनिबार पनि हाउसफुल भएकाले उनीहरुले बताए ।

यसैबीच यो फिल्मको अर्को रोमान्टिक गीत तिम्रो पछि पछि…पनि युट्युवबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा प्रदीप खड्का र पारमिताको रोमान्स देख्न सकिन्छ । दयाराम पाण्डेको शब्द, अर्जुन पाखरेलको संगीत रहेको यो गीतमा निशान भट्टराईको स्वर छ । गीतलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् । भिडियो रिलिज भएको दुई दीनमै गीतलाई ३ लाख ५० हजार भन्दा बढी पटक हेरिसकिएको छ ।

निरक पौडेलले निर्देशन गरेको चलचित्र रोजमा प्रदीप खड्कासँगै, पारमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत अभिनय छ ।

अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।