३०० करोड क्लबमा चढ्यो सञ्जु


एजेन्सी
मुम्बई, ३१ असार

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बलिउड फिल्म ‘सञ्जु’ले प्रदर्शनीको १५ दिनमा शनिबारसम्म भारतीय बक्स अफिसमा ३ सय करोडको व्यापार गरेको छ । चलचित्रले बक्स अफिसमा अझै राम्रो व्यापार गरिरहेको छ ।

यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यसअघि उनको पछिल्लो फिल्म पिकेले भारतमा ३४०.८० करोडको व्यापार गरेको थियो । यता सन् २०१८ मा रिलिज भएका बालिउड सिनेमामा अहिलेसम्म सबैभन्दा बढी व्यापार गर्ने चलचित्र ‘सञ्जु’ बन्ने भएको छ । बलिउडको बायोपिक चलचित्रमा पनि सबैभन्दा बढी व्यापार गर्ने चलचित्र सञ्जु नै हुने अनुमान गरिएको छ । किनकी अहिलेसम्म सबै भन्दा बढी व्यापार फिल्म दँगलले ३८७.३७ करोड गरेको छ । फिल्म सञ्जु तेस्रो हप्तापुरा गर्दा दँगलको आँकडामा पुग्न सक्ने अनुमान गरिएको छ ।

यो चलचित्र व्यावसायिक रूपमा सफल हुनुमा विभिन्न पक्ष देखिएको बलिउड विश्लेषकहरू बताउँछन् । एकातिर सञ्जय दत्तको आन्तरिक जीवनबारे धेरैलाई जानकारी नभएको कुरा यो फिल्ममा देखाइएको छ । जसका कारण दर्शकलाई चलचित्र थप रोचक लागेको छ ।

अर्कोतर्फ निर्देशक राजकुमार हिरानी अभिनेता सञ्जय दत्तसँग नजिक भएकै कारण उनले सञ्जय दत्तको जीवनीलाई इमानदारितापूर्वक साँचो रूपमा पर्दामा उतारेका छन् । यसकारण पनि यो फिल्म रुचाईएको छ ।

अर्को तर्फ सञ्जुमा रणवीर कपुरले आफूलाई सञ्जय दत्तका रूपमा ससक्त रुपमा प्रस्तुत गरेका छन् । चलचित्र हेर्दा दर्शकले रणवीरलाई बिर्सेर सञ्जय दत्तकै जीवनीमा डुब्छन् । यस कारण पनि यो चलचित्रलाई दर्शकले मन पराएका हुन् । त्यसो त फिल्ममा नरगिसको भूमिकामा मनिषा कोईराला, सुनिल दत्तकको भूमिकामा परेश रावल, लेखकको भूमिकामा अनुष्का शर्माको अभिनयले पनि निकै चर्चा पाएको छ ।