व्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

गत ३० चैतबाट देशव्यापी रिलिज भएको नेपाली चलचित्र लिली बिलीले आफ्नो सफल प्रदर्शनीको ५१ दिन पुरा गरेको छ ।
काठमाडौं उपत्यकाका चार ओटा सिनेमा हल गोपिकृष्ण भूमिज, गुण सिनेमा, अष्टनारायण पिक्चर्स र बाराही मूभिजमा लिली बिलीले ५१ दिन मनाएको छ ।

अभिनेता प्रदीप खड्काको ५१ दिन मनाएको यो तेस्रो फिल्म हो । यस अघि प्रदीपको प्रेम गीत र प्रेम गीत २ ले सफल प्रदर्शनीको ५१ दिन मनाईसकेको छ ।

आफ्नो तेस्रो सिनेमाले ५१ दिन मनाएको अबसरमा २० जेठमा (आज) प्रदीप नयाँ फिल्म लभ स्टेशनमा आबद्ध हुँदैछन् । राजधानीको दरबारमार्ग स्थित उड्ल्याण्ड होटलमा आजसाँझ केक काटेर लिली बिलीको ५१ दिनको खुसीयाली मनाउँदै छन् । यो खुसी र सफलता सबैसँग साट्ने यसका निर्माता गोबिन्द शाहीले बताएका छन् ।

चलचित्र लिली बिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । आफ्नो फिल्मले सफल प्रदर्शनीको ५१ दिन मनाएकोमा उनले खुसी व्यक्त गरेका छन् । लिली बिलीबाटै मिलन एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार र डि सिने अवार्डबाट हालै पुरस्कृत भईसकेका छन् । उनी अहिले नयाँ फिल्म बीर बिक्रम २ को छायाँकन तयारीमा छन् ।

लिली बिलीमा प्रदीपसँगै जसिता गुरुङ, प्रियँका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठसहितको अभिनय छ । फिल्मलाई सुदिप बरालले खिचेका हुन भने प्रदीप भारद्धाजले लेखेका हुन् ।