अभिनेता प्रदीपलाई कठघरामा उभ्याउँदै रोजीको निर्माण सुरु


व्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

युवा अभिनेता प्रदीप खड्कालाई एउटा दृष्य अनुसार अभियुक्तको रुपमा कठघरामा उभ्याउँदै नयाँ चलचित्र ‘रोजी’को निर्माण सुरु गरिएको छ ।
गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुती रहने यो चलचित्रको बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा बनाईएको एउटा सेटमा अभिनेता प्रदीपलाई अभियुक्तको रुपमा बुधबार दिउँसो प्रस्तुत गरियो ।

बिगत केही महिना देखि यही चलचित्रको लागि कपाल पालेर विशेष गेटअप बनाएका प्रदीप सोही गेटअप सहित मुहुर्त समारोहमा सञ्चारकर्मी सामु सार्वजनिक भए ।

मुहुर्तको क्रममा अभिनेता प्रदीप लट्टा परेको लामो कपाल, स्याहार नगरिएको दाह्री सहित हतकडीमा जगडिएर अदालतको कठघरामा उपस्थीत भए । आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको अभियोगमा उनी त्यहाँ प्रस्तुत भएका थिए ।

यो चलचित्रका प्रस्तुतकर्ता उद्धव पौड्याल अदालतमा न्यायाधिसका रुपमा थिए । अभिनेत्रीद्धय पारमिता राज्यलक्ष्मी शाह र मिरुना मगर पनि सम्बन्धित दृष्यमा प्रस्तुत भए । सोही दृष्यमा अभियन गर्दै रोजीको मुहुर्त सम्पन्न गरियो ।

यो चलचित्रकालागि निकै मेहनत गरिरहेका प्रदीपले आफुले उत्कृष्ट काम दिने बताएका छन् । उनको मेहनत र लगनशिलता बुधबारको मुहुर्तका क्रममा पनि देखिएको थियो । चकलेटी हिरोको रपमा पाएका प्रदीप यसपटक थप नविन भूमिका देखिँदैछन् ।

६ जेठबाट छायाँकन सुरु हुने रोजीमा प्रदीप खड्का, पारमिता राज्यलक्ष्मी शाह, मिरुना मगरसँगै कर्मा शाक्य, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायतको अभिनय रहने छ ।

यो चलचित्रलाई निरक पौडेलको निर्देशन गरिरहेका छन् । रोजीको कथा अनुप सापकोटाले लेखका हुन् । जसमा केदार भुषालको पटकथा तथा सम्वाद, राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत, दयाराम पाण्डेको गीत रहने छ । गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गर्ने रोजीको नेपालसंगै दुवई र फिलिपिन्समा छायाँकन गरिने छ ।