निर्मातालाई हाम्रो हल बन्द गर्ने अधिकार छैन – प्रदीप कुमार उदय (अध्यक्ष– नेपाल चलचित्र संघ)


========================================================

‘नेपाली चलचित्रका निर्माताहरुलाई आफ्ना नेपाली चलचित्रमात्र सिनेमा हलमा प्रदर्शन गर्न नदिने अधिकार छ । तर निर्मातालाई हाम्रो हल बन्द गर्ने अधिकार छैन । उहाँहरुले आफुले चाहेको जति रेट तोक्नु, त्यो रेटको शेयर नपाए सिनेमा हल बन्द गर्नु, गराउनु भनेको निर्माताहरुको सिन्डिकेट नै हो । त्यो कानूनी रुपमा उहाँहरुले पाउनुहुन्न ।’                                      ===========================================================

व्युटी न्युज नेपाल

काठमाडौं, २३ बैशाख

नेपाली चलचित्र निर्माताहरुले आगामी ४ जेठबाट देशभरका सिनेमा हल ठप्प पार्ने बताएका छन् । आफुहरुले फिल्म हलमा चलाएबापत प्राप्त रकममा हलवालाबाट बिभेद भएको भन्दै उनीहरुले आन्दोलनको घोषणा ८ बैशाखमै गरेका हुन् । सो आन्दोलनको बारे बल्ल चलचित्र वितरक, प्रदर्शक (सिनेमा घर सञ्चालक)हरुको संस्था नेपाल चलचित्र संघले चासो देखाएको छ । अब निर्माताहरुको आन्दोलनमा के हुन्छ त ? निर्माताको माग पुरा होला त ? यसै बिषयमा व्युटी न्युज नेपालले नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयसँग गरेको कुराकानी ?

नेपाल चलचित्र निर्माता संघले आन्दोलन घोषणा गरेको १२ दिनपछि बल्ल तपाईहरुले त्यसमा चसो देखाउनु भयो नी । सुरुमै चासो नदेखाउनुको कारण ?

हामीले पनि मिडियामा आन्दोलनबारे पढेका हौं । तर उहाँहरुले हामीलाई भेटेर यसबारे लिखित जानकारी सुरुमा गराउनु भएन । नेपाल चलचित्र निर्माता संघले सुरुमा आफ्नो माग हामीसँग राख्ने हो नी ? उहाँहरु सुरुमा मिडियामा जानु भयो । उहाँहरुको माग सहितको पत्र हामीलाई १९ जेठमा प्राप्त भयो । त्यसपछि लगत्तै हामीले बैठक बसेर वार्ताकालागि टोली गठन गरेका हौं । वेवस्ता गरेको छैनौं ।

बार्ता टोलीमा को को हुनुहुन्छ त ?
टोलीको संयोजकमा भास्कर ढुँगाना हुनुहुन्छ । बाँकी सदस्यहरुमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, त्रिरत्न मानन्धर र भरत अग्रबाल हुनुहुन्छ ।

यो टिमले बार्ता कहिलेसम्म सम्पन्न गर्छ ?
हामीले त आईतबारबाटै बार्ता सुरु गर्ने भनेको हो । २३ बैशाखबाट बार्ता हुने सल्लाह भए पनि २४ बैशाख बिहान ११ बजे बार्ताको समय तय गरिएको मैले बुझेको छु ।

निर्माताहरुको आन्दोलनलाई नेपाल चलचित्र संघले कसरी हेरेको छ ?
आफुलाई चित्त नबुझेको कुरामा आन्दोलन गर्न पाईयो । तर आन्दोलन गर्नु अघि निर्माता र हलवाला दुबै व्यबसायी भएकाले एक आपसमा समस्याबारे कुरा हुनुपथ्र्यो । तर त्यसो गरिएन । निर्माताहरु सोझै आन्दोलन घोषणासँगै आन्दोलन तर्फ लम्एिका छन् ।

आन्दोलन अनुसार त देशभरका चलचित्र घरमा सबै सिनेमा प्रदर्शन रोक्ने तयारी हुँदैछ नी ?

नेपाली चलचित्रका निर्माताहरुलाई आफ्ना नेपाली चलचित्रमात्र सिनेमा हलमा प्रदर्शन गर्न नदिने अधिकार छ । तर निर्मातालाई हाम्रो हल बन्द गर्ने अधिकार छैन । उहाँहरुले आफुले चाहेको जति रेट तोक्नु, त्यो रेटको शेयर नपाए सिनेमा हल बन्द गर्नु, गराउनु भनेको निर्माताहरुको सिन्डिकेट नै हो । त्यो कानूनी रुपमा उहाँहरुले पाउनुहुन्न ।

निर्माताहरु पीडित भएपछि आन्दोलनमा उत्रनु स्वभाविकै हैन र ?

उहाँहरुले आफुमात्र मर्कामा परेको देख्नु भएको छ । व्यापार नभएर सिनेमा हल धान्न नसकेकै कारण मुलुकका ४ सय भन्दा बढी सिनेमाहल मध्य २ सय ओटा जति सिनेमा हल बन्द भैसकेका छन् । यहाँ धेरैजसो निर्माता र धेरै जसो सिनेमा हल सञ्चालक प्राय घाटामै छन् ।

तर केही वर्ष अघि एउटा फिल्म हल खोल्नेले १० वर्षमा बढाएर दर्जन सिनेमा हल पनि त पुर्याएका छन् नी ? यो त घाटा भएर पक्कै हैन होला ?

हो, केही सिनेमा घरको राम्रो कमाई छ भने केही निर्माताले पनि राम्रो कमाई गरेका छन् । बाँकी बहुसँख्यक फिल्महल र बहुसँख्यक चलचित्र निर्माता घाटामा छन् । थोरैले कमायो भन्दैमा मर्कामा परेकाहरुको दुःख नबुझ्ने कुरा त भएन नी ।

अनि एउटा सिनेमा चलाउँदा पहिलो साता ५० प्रतिसत, दोस्रो साता ४२ प्रतिसत, तेस्रो साता ३७ प्रतिसत र चौथो साताबाट जति चलेपनि ३० प्रतिसतमात्र शेयर पाउनु त निर्माताहरुका लागि निकै ठुलो घाटा भएन र ? थोरै पैसामा धेरै साता चलाएर हलले कमाएको देखिन्छ नी ।
हल पनि त नचलेको अबस्था छ नी । मैले भने नी एक दुई ओटा सिनेमा चल्दा उनीहरुलाई घाटा देखिएको हो । बाँकी सिनेमा त प्राय एक हप्तामै उत्रने गरेका छन् । तैपनि यो शेयर बाँड फाँडको नियम नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राईले आफु चलचित्र विकाश बोर्डमा र निर्माता संघमा अध्यक्ष हुँदा लागू गर्नु भएको हो । हामीले भन्दा पनि निर्माता संघकै पहलमा भएको सम्झौता पछि यो नियम लागू भएको हो । तर निर्माताहरुले धेरै अघिको विर्सिसकेको एउटा सम्झौतालाई यतीबेला कार्यन्वयन गर्न खोजिरहनु भएको छ ।

त्यसो भए निर्माताहरुले राखेको ६० प्रतिसतको शेयरको माग के हुन्छ त ?
त्यो बारेमा अहिलेनै म केही भन्न सक्दिन । त्यो दुबै पक्षबीच बार्ता भएपछि बल्ल के गर्ने भन्ने एउटा निस्कर्ष निक्लने छ । किनकी उहाँहरुले समग्र हल सञ्चालकहरुको घाटा देख्नु भएको छैन । केही हलवालाहरुले कमाएको मात्र देख्नु भएको छ ।

त्यसो भए निर्माताहरुसँगको बार्ता अब के हुन्छ ?

हामीले बार्ता समितिलाई केही दिन भित्रै बार्ता सुरु गरेर ठोस परिणामा निकाल्न निर्देशन दिएका छौं । निर्माता संघले पनि बार्ताको लागि ६ सदस्यीय टिम खड गरिसकेको छ । त्यसैले सोमबार बिहान ११ बजेपछि बस्ने बैठकले यो समस्या बारे छलफल गर्ला । हरेक समस्या बार्ताबाट समाधान हुने भएकाले हामी पनि त्यसतर्फ सकरात्मक छौं ।