वर्षातमा पहिरनको छनौट यसरी गरौं


फेसन टिप्स्

जयन सुब्बा मानन्धर
काठमाडौं, १६ बैशाख

वर्षातको मौसममा प्राय पानी परिरहन्छ । शरीरमा लगाएको कपडा वर्षामा भिजेपछि शरीरमै टाँसिने गर्छ । यस्तो अवस्थामा शरीर नै भद्दा देखिन्छ । वर्षामा सडकभरी पानी, हिलो, फोहोर समेत हुने भएकाले कपडामा लाग्ने समस्या हुन्छ । यस्तो फोहोर लाग्दा अरुका सामु आफु लज्जित समेत हुनु पर्ने अबस्था आउँछ । त्यसैले वर्षातको मौसममा कपडा छनौट गर्दा यस्तो कुरामा विशेष ध्यान पु¥याउनु पर्छ । ताकी सही पहिरनको छनौट र प्रयोगले आरामदायितासँगै सुन्दर, आकर्षक पनि देखियोस् । अर्को तर्फ वर्षामा भिज्दा अरुका सामु पारदर्शिताको कारण लज्जित हुनु नपरोस् । त्यसैले वर्षातको मौसममा कामकाजी एवम् घरेलु महिला र युवतीहरुले कस्तो किसिमको परिधान लगाउने भन्नेबारे यहाँ उल्लेख गरिएको छ ।

पातलो कटन
बर्षातको मौसममा सिन्थेटिक एवम् कटनको प्रयोग उपयुक्त मानिन्छ । यो पहिरन सबै उमेरका महिलाहरुले रुचाएका छन् । बिभिन्न डिजाइनमा तयार पारिएका कटनका कपडाहरु गर्मी एवम् बर्षातको मौसममा प्रयोग गर्न सकिन्छ । तर ज्यादा खुकुलो र कसिलो हुनुहुँदैन ।

कुर्तीको चलन
वर्षातको मौसममा कुर्तीको पनि धेरै प्रयोग गर्ने चलन छ । यस्तो मौसममा कटनको स्लिभलेश कुर्ती धेरै प्रयोग हुने गरेको छ । कटनको कुर्तीले शितलता दिनुका साथै पानीले भिजे पनि छिट्टै नै सुक्ने हुन्छ । यो मौसममा पसिना बढी आउने हुनाले स्लिभलेश कुर्तीको प्रयोग उपयुक्त मानिन्छ ।

क्राफ्ड जिन्स
वर्षातमा जिन्स पाईन्ट वा अन्य पाईन्टलाई वर्षा र सडकको पानीको कारण घुडासम्म पट्याउनु पर्ने हुन्छ । यो समस्याबाट मुक्त हुन क्राफ्ड जिन्सको प्रयोग सही मानिन्छ । गर्मी एवम् बर्षातको मौसम क्राफ्ड जिन्सको प्रयोगले कम्फर्ट महसुस हुनका साथै स्टाइलिस लुक पनि पाउन सकिन्छ । घुँडा देखि केही तलसम्म हुने क्राफ्ड जिन्सको फेशन सेलेब्रेटीमा मात्र सिमित नभई मध्यम बर्गीय आधुनिक युवतीहरु माझ पनि लोकप्रिय बनेको छ । क्राफ्ड जिन्स सितल हुने भएकोले यसलाई शर्ट एवम् टप्ससँग प्रयोग गर्दा राम्रो देखिन्छ । क्राफ्ट जिन्सको विशेषता भनेकै कुनै पनि फुटवेयर सँग प्रयोग गर्न सक्नु हो । पातलो शरीर भएकाहरुले कार्गो स्टाइल काफ्ड पाईन्ट प्रयोग गर्दा सुहाउँछ । तर खुकुलो हुनु हुँदैन । नत्र पानीमा सुर्किने समस्या हुन्छ । ज्यादा कसिलो पनि लगाउनु हुँदैन । कसिलोले झन् दुब्लो देखिन्छ ।

वर्षातमा फुटवेयर
वर्षातको मौसममा यदि लामो हिड्नु छ भने ओपन सेन्डल प्रयोग गर्नु पर्ने हुन्छ । किनकी औंलामा धेरैबेरसम्म पानी रहयो भने फंगल जम्ने सम्भावना बढी हुन्छ । ओपन सेन्डल भयो भने खुट्टामा हावा पस्छ । जसका कारण पानी बस्न पाउँदैन । यो मौसममा फ्लोट्सको प्रयोग नै बढी सहजन हुन्छ । ओपन हुने भएकोले यसमा पानी जम्न पाउदैन र चिप्लने डर पनि हुँदैन ।

वर्षातको मौसममा ध्यान दिनु पर्ने अन्य पहिरन
– वर्षातको मौसममा कटन एवम् शिल्क साडी, सुटको साटो सिन्थेटिक फेब्रिकबाट बनेको वासेबल कपडाको छनौट गर्नु बुद्विमानी हो । यस्तो फेब्रिक भिजे पनि शरीरमा टासीँदैन । यो चाँडै सुक्ने गर्दछ ।
– यदि साडी लगाउदै हुनुहुन्छ भने साह्रै तल लगाउनु हुँदैन । किनकी बर्षातको मौसममा पानीले भिज्ने तथा सडकको हिलो र फोहोर लाग्ने र कपडा फोहोर हुने गर्दछ ।
– वर्षातको मौसममा नया कपडाको साटो पुरानो कपडा (प्रयोग गरिसकेको )प्रयोग गर्नु राम्रो हो । किनकी पुरानो कपडामा हिजो, पानी लाग्दा पनि नोक्सानको चिन्ता हुँदैन ।
– वर्षातमा रङ जाने कपडा प्रयोग गर्नु हुदैन । किनकी पानीले भिजेपछि सबै रङ शरीरमा लाग्ने गर्दछ । यस्तो अवस्थामा गाढा रङको रङ नजाने कपडा प्रयोग गर्नु पर्छ । यदि फिक्का रङ प्रयोग गर्ने हो भने आकासे रङ, हलुका गुलाबी, हलुका पहेलो रङको कपडा प्रयोग गर्नु राम्रो हो ।
– वर्षातको मौसममा राम्रो ब्रान्डको सिन्थेटिक लेदरको पानीमा लगाउने चप्पल या जुताको प्रयोग गर्नु पर्छ । हलुका चप्पलहरुको प्रयोग गर्नु हुँदैन। हलुका चप्पलले हिलो, फोहोर उछिट्याएर पछाडीपट्टी कपडालाई फोहोर बनाउँछ ।
– वर्षातको मौसममा बाहिर निस्कने हो भने रेनकोट, छाता सानो तौलिया व्यागमा राख्न बिर्सनु हुँदैन । यसो भयो भने झरीमा भिज्नबाट जोगिन सकिन्छ ।


मोडलहरु – ममता खड्का, दिपेश राई

तस्बिर – कमल श्रेष्ठ