एनएफडिसी पुरस्कार नपाएपछि चलचित्रकर्मीको फेसबुकमा आक्रोस


काठमाडौं, १५ बैशाख

झरीले बिथोलिए पनि जेनतेन गरेर बिहिबार राती प्रदान गरिएको छैटौं संस्करणको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७४’ प्रदान गरिएको दुई दिन बितिसक्दा पनि चलचित्रकर्मीले अवार्ड विरुद्ध सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टी पोखिरहेका छन् ।

सो अवार्ड पाउनेले फेसबुकका भित्तामा खुसी व्यक्त गरेका छन । सो पुरस्कार नपाउनेले अवार्ड विरुद्ध विभिन्न व्यँग्यवाण हानेका छन् । अवार्डकै कारण यतीबेला सामाजिक सञ्जाल फेसबुकमा चलचित्रकर्मीहरुको विभिन्न प्रतिक्रियाको जुवारी चलेको देख्न र पढ्न पाईएको छ । जुवारीमा कसैले यो अवार्डको समर्थन गरेका छन भने कसैले बिरोध जनाएका छन् ।
निर्देशक शोभित बस्नेतलाई यो अवार्ड निष्पक्ष लागेन् । ए मेरो हजुर–२ बाट सह अभिनेताको मनोनयनमा शोभितका छोरा सलोन बस्नेत परेर पनि सलोनले यो पुरस्कार पाएनन् । त्यसपछि शोभितले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखे, ‘चलचित्रकर्मी साथीहरु, एउटा प्रश्न, अवार्ड पाउन हिट हुनु पर्छ की फिट ?’

चलचित्र पञ्चायतबाट अभिनेत्री निता ढुँगानाले उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेर पनि यो पुरस्कार पाईनन् । तर यो अवार्डबारे पञ्चायतका निर्देशक शिवम अधिकारीले फेसबुकको भित्तामा यस्तो प्रतिक्रिया पोखे,

‘हल किन्ने, होल्ड ओभर बचाउन टिकट किन्ने, हुदा हुदै अवार्ड किन्ने ?

आखिर के के मात्र किन्नु के निर्माताले ?’

अभिनेता पुष्प खड्का पनि चलचित्र मँगलम्बाट सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए । तर उनले पनि पुरस्कार पाएनन् । चलचित्र ‘कृ’बाट अनमोल केसीले सर्वोत्कृष्ट अभिनेताको एनफएडिसी राष्ट्रिय चलचित्र पुरस्कार पाएपछि पुष्प खड्काले आफ्नो फेसबुक वालमा यस्तो लेखे, ‘म हिजो पनि खुशी थिएँ र आज पनि !! ’

यो पुरस्कारमा आफ्नो चलचित्र फाटेको जुत्ता कुनै पनि बिधामा मनोनयनमा नपरेपछि एनएफडिसी अवार्ड बिक्री भयो भन्दै फेसबुकमा टिप्पणी लेखेको निर्माता अर्जुन कुमारले यो पुरस्कार प्रदान गरिएपछि फेरी यस्तो लेखेका छन्,‘कमसे कम अवार्ड र सम्मान त नवेच । मेरो देशको अवार्डको बारेमा पत्रकार मित्रहरुले गरेको कमेन्टस् तथा कथित राष्ट्रिय अवार्डको बिजोग ह…लाई भन्दा देख्नेलाई लाजमर्दो अवस्था ।’

चलचित्र ऐश्वर्यको गीत तिमी रोएको पल…एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारका लागि संगीत तर्फ उत्कृष्ट पाँचको मनोनयनमा परेर पनि पुरस्कार नपाएपछि यो गीतका संगीतकार अर्जुन पोखरेलले सो पुरस्कारप्रति व्यँग्य गर्दै फेसबुकमा यस्तो लेखेका छन्,
‘यो गीतको शब्द बेला बेलामा मलाई गुनासो गर्छ
आज मैले यसरी सम्झाय यसलाई
तिमी हारेको पल तिमीलाई जिताउन नसकुला
तर तिमी सङ्गै म हारी दिन सक्छु…’

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा १ बैशाख २०७४ देखि ३० चैत २०७४सम्म रिलिज भएका सिनेमा सहभागी थिए । यसै क्रममा ३० चैतबाट रिलिज भएको चलचित्र ‘लिली बिली’ले चार ओटा विधामा अवार्ड पायो । तथापि चलचित्र निर्देशक सुब्रतराज आचार्यले यस्तो प्रतिक्रिया फेसबुकमा जनाए,‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो ? हलमा भर्खरै चलिराको फिलिमले कसरी पायो अवार्ड ? नबुझेको कुरो ।’

चलचित्र दुई रुपैयाँको कुटुमा कुटु…गीतले सर्वोत्कृष्ट चलचित्र संगीतको पुरस्कार पाएपछि यही गीतको एक लाईन बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो ? लाई निर्देशक सुब्रतले व्याँग्य गरेको बुझिन्छ । यस्तै अरु पनि धेरै चलचित्रकर्मीले यो पुरस्कारबारे नकरात्मक प्रतिक्रिया जनाएका छन् ।