पहिला पढाई अनि प्रेम भन्छिन मोडल विशाखा


काठमाडौं, २ बैशाख

नेपाली मोडलिङ क्षेत्रमा छोटो समयमा स्थापित मोडल हुन विशाखा पाण्डे । उनी बिगत एक वर्षदेखि मोडलिङ क्षेत्रमा छिन् । काठमाडौंको बौद्ध महाँकाल निवासी विशाखाले मोडलिङ कन्टेष्ट ‘मोडल हन्ट नेपाल –२०१७’ बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् ।

 

यसपछि उनले र्याम्प मोडलिङ सुरु गरिन् । यो एक वर्षमा विशाखाले ‘दशैं कार्निभल–२०७४ फेशन शो’, ‘फेशन मेनियाँ–२०१७’, ‘इभेन्ट बेटर ग्यालेक्सी रनवे फेशन–२०१८’, ‘न्यु इयर–२०७५ कायरा रनवे–६’ जस्ता विभिन्न फेशन शोमा क्याटवाक गरिसकेकी छिन् ।

 

बिस्कुट लगायत विभिन्न खाद्यसामग्री उत्पादन गर्दै आएको नेविको कम्पनीको ‘ब्राण्ड एम्बेसडर’ रहेकी विशाखा नेविकोको निम्ति एक वर्षका लागि आबद्ध भएकी छिन् । अब उनलाई चाँडै नै नेविकोको उत्पादनमा मोडलिङ गरेको देख्न पाईने छ ।

 

हाल काठमाडौं बौद्ध स्थित अरुणिमा कलेजमा म्यानेजमेन्ट अन्तर्गत कक्षा ११ मा पढ्दै गरेकी विशाखा भविष्यमा चार्टर एकाउन्टेन्ट बन्न चाहन्छिन् । उनी मोडलिङ, डान्स, म्युजिक, स्पोर्ट (टेबल टेनिस, फुटलब) मा रुची राख्छिन् । विशाखा मोडलिङसँगै चलचित्रमा पनि आउन चाहन्छिन् ।

 

मोडलिङ क्षेत्रमा विशाखालाई मन पर्ने पक्ष फोटो सुट, र्याम्प वाक लगायत हुन् । त्यही भएर आफु यो क्षेत्रमा आएको उनले बताईन् । नामसँगै दाम पनि हुने र चर्चा पनि हुने भएकाले उनलाई मोडलिङ मन परेको हो । त्यसो त उनलाई मोडलहरुले धुमपान गर्ने बानी मन पर्दैन् ।

विशाखालाई मन पराउनेहरु धेरै छन् । प्रेम प्रस्ताव पनि त्यत्तिकै आउँछ । तर अहिलेसम्म कसैसँग प्रेम नपरेको उनले बताईन् । उनी पढाई र मोडलिङमा स्थापित भएपछि मात्र प्रेम सम्बन्ध विस्तार गर्ने बताउँछिन् । अहिले प्रेम सम्बन्धमा न आउनुको कारण आफु भरखर १६ वर्षमात्र पुगेको र यो प्रेम गर्ने उमेर नभएको विशाखाले बताईन् ।

 

मोडलिङ क्षेत्रमा परिवारबाट राम्रो सहयोग पाएको उनले बताउँछिन् । प्राय फेशन शोहरु राती हुने गरेको र कार्यक्रम सकेर अबेर रातमा घर जाँदा पनि आफ्नो समस्या परिवारले बुझिदिएकोमा उनी खुसी छिन् ।

 

तस्बिर ः व्युटी न्युज नेपाल