पैसाको खेल कोहलपुर एक्सप्रेस (भिडियोसहित)


काठमाण्डौ, १४ चैत ।

बुधवार राजधानीमा आयोजित बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको कुरा निमात्री केकी अधिकारी खुलाएकी छिन् ।

कोहलपुर एक्सप्रेस फिल्मका निर्देशक विशाल भण्डारी हुन् । उनले यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको फिल्ममा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेकी छन् ।

 

ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ । अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले १ घण्टा ५५ मिनेट दर्शकलाई मनोरञ्जन दिएर हलमै बाँधेर राख्ने ठोकुवा गरे । उता पहिलो पटक निर्मात्री बनेकी केकीले ‘कोहलपुर एक्सप्रेस’ गर्दाको अनुभव सुनाइन् ।

उनले भनिन्, ‘म करीब एक दशकदेखि यही क्षेत्रमा छु । त्यसैले गाह्रो हुँदैन होला जस्तो लागेको थियो । तर निर्मात्री बन्न निकै गाह्रो हुँदो रहेछ । अर्कै ‘फिल्ड’ मा हात हालेको झैँ भयो ।’ कार्यक्रममा प्रियंका र ऋचा दुबै उपस्थित थिए ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

ट्रेलर हेर्नुहोस् :-