काठमाडौं, १२ फागुन

व्युटी सम्बन्धि पेशमा नेपालमा पुरुषहरुको सँख्या न्युन छ । त्यही न्युन सँख्या भित्रका एक पुरुष सौन्दर्यकर्मी हुन सुजन तिमिल्सिना । काठमाडौंको मरु गणेशथान निवासी सुजन मुलत नेल आर्ट (नङ सृँगार कला) र मेहन्दी आर्टका बिज्ञ हुन् ।

 

सामान्य नङलाई एक छिनमै उनले विभिन्न फुल बुट्टा भरेर तथा नङमा कला सृजना गरेर त्यसलाई अति आकर्षक तुल्याउँछन् । सुजनले यो पेशा अँगालेको ६ वर्ष भयो । उनी यो पेशाबाट व्युटी क्षेत्रमा अहिले लोकप्रिय छन् ।

 


उनको कला सृजनामा सानै देखिको आकर्षण थियो । कला सृजनाकै क्रममा नयाँ के सृजना गर्ने भन्ने योजना बुन्दा बुन्दै उनी एकजना दिदी सुविना खड्गीको सम्पर्कमा पुगे । ती दिदीले नङमा सामान्य बुट्टा भरेको देखेर सुजनलाई त्यो भन्दा राम्रो बुट्टा आफुले बनाउनु सक्छु भन्ने लाग्यो ।

 

नभन्दै उनले निकै राम्रो बुट्टा बनाए । सुजनले नङमा बनाएको बुट्टा देखेर ती दिदी खुसी भईन र नङमा बुट्टा बनाउने कलामा लाग्न सुझाब दिईन् । यहीँबाट सुजनको नेल आर्टमा लगाव सुरु भयो । नभन्दै उनले यसलाई पेशा नै बनाएर अहिले राम्रो आम्दानी गरेका छन् ।

 

सुजनलाई यो कला सिक्दा सुरुमा साथीहरुबाटै विभिन्न घोचपेच सहुन प¥यो । छोरा मान्छे भएर छोरीहरुको काम गर्न लाग्यो भनेर उनलाई साथीहरुले पटक पटक जिस्क्याए । तर सुजनले त्यो जिस्क्याईलाई वेवास्ता गर्दै नेल आर्टलाई निरन्तता दिए । अहिले सुजनाको नेल आर्ट देखेर ती सबै साथीहरु खुसी छन् । यो प्रगतिको लागि ती साथीहरुले आजकाल मलाई शुभकामना दिने गरेका छन भन्छन सुजन ।

 

उनले यो पेशा अँगाल्दा ६ वर्ष अघि युवती तथा महिलाहरु सुजनसँग नङ सिँगार्न हिचकिचाउँथे । केटा मान्छेले पनि कहीँ नेल आर्ट गर्न सक्छ र ? भनेर उनलाई प्रश्न गर्थे । तर राम्रो नेल आर्ट गरेपछि छोरी मान्छेले भन्दा राम्रो काम गर्नु हुँदो रहेछ भनेर आफ्नो प्रसँसा धेरैले गरेको अनुभव सुजनले सुनाए ।

 


नङ आफैंमा सानो हुने र त्यसमा पनि आकर्षक कला सृजना गर्नु आफैंमा गाह्रो काम भएको सुजन बताउँछन,‘नङ साने हुने भएकाले यसमा थोरै बिग्रिँदा पनि नराम्रो देखिन्छ, त्यसैले नेल आर्ट गर्दा निकै गम्भिर भएर त्यसमा केन्द्रित हुनुपर्छ । तथापि नेल आर्टको तुलनामा मेहेन्दी आर्ट अलिक सजिलो हुन्छ ।’ सुजनले भने ।

 

नङमा कला सृजना गर्ने सुजन कसैको सानो नङ छ भने त्यसमा कृतिम नङ जोडेर ठुलो र आकर्षक पनि बनाउँछन् । बिग्रिएको, कोत्रिएको नङ छ भने त्यसलाई पनि आफुले हटाएर जेल नेल, तथा एक्रेलिक नेल बनाएर सुन्दर तुल्याउने गरेको पनि सुजनले जानकारी गराए ।

 

 

कसैको नङ टोक्ने बानी छ भने उनीहरुको नङमा सुन्दर कला सृजना गरेर नङ टोक्ने बानी हटाएको अनुभव पनि सुजनले सुनाए । मुलत नङमा सबै प्रकारको बुट्टासँगै थ्रि डी नेल आर्ट, वान स्ट्रोक नेल आर्ट, वाटर मार्वल नेल आर्ट, ग्रेडिएन्ट नेल आर्ट, स्ट्याम्पिङ नेल आर्ट, स्टिक तथा टुथपिक नेल आर्ट उनले गर्ने गर्दछन् ।

 

नेल आर्टसँगै मेहेन्दी आर्ट पनि गर्दै आएका सुजनले मेहेन्दीमा वान लाईन मेहेन्दी, ब्राईडल मेहेन्दी, फेन्सी मेहेन्दी, बेँगल मेहेन्दी, जरी मेहेन्दी, पार्टी मेहेन्दी, अरबिक मेहन्दी लगाउने गरेका छन् । मेहेन्दी सिजनमा मात्र लगाईने र नेलसँधै सुन्दर बनाउनु पर्ने भएकाले आफुलाई मेहेन्दी भन्दा नेल आर्टकै काम बढी आउने गरेको पनि उनले बताए ।

 

हाल दरबारमार्गको डी भान युनिसेक्स सुलन लगायतमा नेल आर्ट गर्दै आएका सुजना यो पेशाबाट कमाई राम्रो हुन्छ भन्छन् । बिदेश गएर कमाउने भन्दा राम्रै कमाई यो पेशामा नेपालमा हुने गरेको उनले बताए ।

 

नेल र मेहेन्दी आर्टको बिगत ६ वर्ष देखि तालिम दिँदै आएका उनले रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनबाट एक हजार भन्दा बढीलाई यो कला सिकाई सकेका छन् । अहिले झन यो कला सिक्नेहरुको सँख्या बढेकोमा खुसी लागेको सुजनले बताए ।

 

सुजनको भनाईमा पुरुष महिला जो कोहीले पनि यो कला सिकेमा बिदेश नगएर यही बसी बसी त्यो भन्दा बढी कमाउन सकिन्छ । त्यसैले यो पेशामा नामसँगै दाम पनि राम्रो कमाई हुने हुँदा नेल र मेहेन्दी आर्ट सिकेर देशमै स्वरोजगार बन्न र अरुलाई पनि यो कला सिकाउँदै स्वरोजगार बनाउन उनले आग्रह गरेका छन् ।